काठमाडौं, भदौ १२ । जनैपूर्णिमाका दिन भक्तपुरका नेवार समुदायका किसानले खेतमा पुगेर भ्यागुताको पूजा गरी भात तथा विभिन्न परिकार खुवाएका छन् ।
जनैपूर्णिमाका दिन धेरैजसो मानिस मठमन्दिरमा पूजाअर्चनाका लागि पुगिरहेका बेला भक्तपुरका किसान भने बिहानै विभिन्न परिकार बोकेर खेततर्फ पुगेका हुन् । खेतको आलीमा बसेर भ्यागुतालाई पाहुनाका रूपमा निम्त्याउने र खाना चढाउने परम्परा यहाँ सयौँ वर्षदेखि चलिआएको छ ।
किसानले भातमा ऐनाको प्रतीकका रूपमा गोलाकार काटिएका मूलाका चाना सिन्काले उनेर राख्ने गर्छन् । मालपुवा आकारका साना सेता रोटी, क्वाँटी, विभिन्न तरकारी तथा अन्य परिकार ठूलो पातमा राखेर नाङ्लो वा किस्तीमा सजाइन्छ । त्यससँगै रक्षाबन्धनको धागो, सिन्दूर र धूपसमेत राखेर भ्यागुताको पूजा गरिन्छ ।
पूजाका क्रममा भ्यागुतो सामुन्ने नआए पनि रक्षाबन्धनको धागो त्यहीँ छाड्ने र साङ्केतिक रूपमा सिन्दूर चढाउने गरिन्छ । किसानले खेतमा छाडेर गएको परिकार भ्यागुताले आएर खाने जनविश्वास छ ।
स्थानीय संस्कृतकर्मी प्रकाश धौभडेलका अनुसार प्रकृतिसँग जोडिएको यस परम्परामा भ्यागुतालाई किसानको सहयोगीका रूपमा सम्मान गरिन्छ । भ्यागुताले बालीनाली बिगार्ने कीरा फट्याङ्ग्रा खाएर किसानलाई सहयोग गर्ने भएकाले त्यसको गुन तिर्न भोज खुवाउने चलन रहेको उहाँ बताउनुहुन्छ ।
प्रत्येक खेतमा पुगेर पूजा गर्ने परम्परा भएकाले धेरै ठाउँमा खेत भएका किसानलाई जनैपूर्णिमाका दिन सबै खेतमा पुग्न भ्याइनभ्याइ हुने गर्छ ।
यस परम्परालाई नेपालभाषामा ‘ब्यां चा जानका वानेगू’ भनिन्छ । ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गका अनुसार भ्यागुतालाई किसानको सहयोगी मानेर सम्मानपूर्वक भोज खुवाउने परम्परा हो । भ्यागुताले कीरा फट्याङ्ग्रा खाएर बालीनाली संरक्षण गर्नुका साथै उफ्रँदा बारीमा मल फैलिन सहयोग गर्ने विश्वाससमेत रहेको उहाँ बताउनुहुन्छ ।
खेतमा काम गर्दा धेरै कीरा फट्याङ्ग्रा मारिने भएकाले त्यसको क्षमायाचनास्वरूप भ्यागुतालाई भात खुवाउने चलन रहेको विश्वास पनि छ ।
संस्कृतकर्मी धौभडेलका अनुसार भ्यागुतासँग वैदिककालीन गुरु–चेला परम्परासमेत जोडिएको मान्यता छ । गुरुबाट उच्चारण गरिएको कुरा शिष्यले हुबहु दोहोर्याउने मौखिक शिक्षा प्रणालीको सुरुवात भ्यागुताबाट भएको मान्यता रहेको उहाँ बताउनुहुन्छ । ऋग्वेदमा रहेको ‘मण्डुक ऋचा’मा भ्यागुतासम्बन्धी उल्लेख रहेकाले यस परम्पराको सम्बन्ध प्राचीन शैक्षिक परम्परासँग जोडिने उहाँको भनाइ छ ।
खेतमा भ्यागुतालाई खाना चढाउनुअघि घरनजिकैको मन्दिरमा पुगेर पूजाआजा गर्ने चलनसमेत भक्तपुरमा रहेको छ ।














प्रतिक्रिया दिनुहोस्