जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार २०:२७

रसुवा भोटेकोशी बाढीबाट ९३ हजार मानिस प्रभावित भएको अनुमान


काठमाडौं, भदौ १२। बुधबार नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट करिब ९३ हजार मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपालका लागि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी)का प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसरले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बाढी तथा पहिरोबाट ठूलो जनसंख्या प्रभावित भएको बताउनुभएको हो ।

उहाँका अनुसार प्रारम्भिक अनुमानमा करिब ९३ हजार मानिस बाढी तथा त्यससँग सम्बन्धित विपद्को प्रभावमा परेका छन् ।

फिसरले अहिले सबैभन्दा ठूलो चिन्ता दोस्रो चरणको बाढीको सम्भावनालाई लिएर रहेको बताउनुभयो । हिमाली क्षेत्रमा बनेका नयाँ ताल तथा पानीका प्राकृतिक अवरोध कमजोर हुँदा अचानक ठूलो मात्रामा पानी बग्न सक्ने जोखिम रहेको उहाँले बताउनुभयो ।

‘हामी निश्चित रूपमा दोस्रो बाढीको सम्भावनालाई लिएर निकै चिन्तित छौँ,’ उहाँले भन्नुभयो ।

दोस्रो चरणको बाढी आए उद्धार तथा राहत कार्यमा समेत थप चुनौती आउन सक्ने उहाँले बताउनुभयो ।

आईएफआरसीले विपद्पछि थप बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै तत्काल उद्धार तथा राहतका लागि २ करोड ५० लाख स्विस फ्र्याङ्क बराबरको आपत्कालीन सहयोग आह्वान गरेको छ । उक्त रकम करिब ४ करोड ७५ लाख नेपाली रुपैयाँ बराबर हुने जनाइएको छ ।