काठमाडौं, भदौ १२ । हवाई उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका ठूलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।
हवाईमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प अघि सार्दै अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउ लागिएकाे हो। प्रदेश सरकारको यो पहलले उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई घर फर्किन सहज हुने भएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणलाई प्रदेश सरकारले त्यहीँ खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याइनेछ। महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुगिने र त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याइने व्यवस्था मिलाइएको छ।
यसका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बसको व्यवस्था गरेको छ। बसको व्यवस्था भएपछि रसुवामा अलपत्र परेका सर्वसाधारणले वैकल्पिक मार्ग हुँदै एकै दिनमा काठमाडौं आइपुग्न सक्ने अवस्था बन्ने भएकाे छ ।
धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपानलगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।
यसैबीच, त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग सफाइ गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत बागमती प्रदेश सरकारले अघि बढाएको छ। उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौं आउन सक्नेछन्।
प्राकृतिक विपत्तिका कारण यातायात अवरुद्ध हुँदा अलपत्र परेका नागरिकलाई तत्काल गन्तव्यसम्म पुर्याउन प्रदेश सरकारले अघि सारेको वैकल्पिक व्यवस्थाले उनीहरूको कठिन यात्रा केही सहज हुने देखिएको छ। उद्धारसँगै खाना, यातायात र सडक सञ्चालनलाई प्राथमिकता दिइएकाले विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत पुग्ने भएकाे छ ।














प्रतिक्रिया दिनुहोस्