जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार १०:२७

फोटो बोकेर काठमाडौंका अस्पताल भौंतारिँदै आफन्त


काठमाडौं, भदौ १३ । रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन आफन्तको खोजीमा परिवारजन काठमाडौंका विभिन्न अस्पताल चहारिरहनुभएको छ। हातमा आफन्तको तस्बिर बोकेर अस्पताल पुगिरहनुभएका उहाँहरू जीवितै भेटिने आशा र शव भए पनि पहिचान हुने प्रतीक्षामा हुनुहुन्छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा मकवानपुरको हेटौँडाकी अनिता थापा मगर श्रीमान् सरोजकुमार थापा मगरको तस्बिर बोकेर बसिरहनुभएको छ। भदौ ९ गते रातिसम्म श्रीमान्सँग फोनमा कुराकानी भए पनि भोलिपल्ट भोटेकोशीमा आएको बाढीपछि उहाँ सम्पर्कविहीन हुनुभएको हो।

सरोजले अन्तिमपटक आफू केरुङ नाकाभित्र गाडी लिएर पुगेको र बाहिर होटलमा रहेको जानकारी गराउनुभएको अनिताले बताउनुभयो। त्यसपछि उहाँसँग फोन सम्पर्क हुन सकेको छैन।

“मान्छे त अब फर्केर आउनुहुन्छ कि भन्ने आसैआसमा बसेकी छु। सम्बन्धित निकायले सक्दो चाँडो खोजी गरेर एक कल फोन मिलाइदिनुहोला,” उहाँले रुँदै भन्नुभयो।

सरोजलाई खोज्दै उहाँका भिनाजु श्याम थापा पनि शिक्षण अस्पताल पुग्नुभएको छ। मोबाइलको लोकेसन मितेरी पुल आसपास देखिए पनि त्यसपछि कुनै सम्पर्क हुन नसकेको उहाँले बताउनुभयो। सरोज ना ४ ख ४५५३ नम्बरको गाडी लिएर रसुवा पुग्नुभएको थियो।

सिन्धुपाल्चोकको तातोपानीकी निङडोमा तामाङ पनि ससुरा शुकवीर तामाङ र देवरको खोजीमा काठमाडौंका विभिन्न अस्पताल पुगिरहनुभएको छ। उहाँका ससुरा रसुवाको घट्टेखोलामा ट्रेकिङको काम गर्नुहुन्थ्यो भने देवर नाकानजिकै गाडी चलाउनुहुन्थ्यो। बाढी आएपछि दुवै जना सम्पर्कविहीन हुनुभएको छ।

निङडोमाले जीवितै भेटिने आशा रहे पनि कम्तीमा शव भए पनि पहिचान होस् भन्ने उद्देश्यले एयरपोर्ट, वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल र केएमसीसम्म पुग्नुभएको बताउनुभयो।

“कहीँ केही अत्तोपत्तो छैन। अहिले टिचिङमा चार जनाको शव ल्याउँदै छ भन्ने सुनेर हाम्रै मान्छे पो हो कि भनेर कुरेर बसेकी छु,” उहाँले भावुक हुँदै भन्नुभयो।

रसुवा कालिका–२ प्राङ्सेका सञ्चराम थोक्रा पनि आफ्ना माहिला दाइ सिंगी थोक्रा, भाइ रोहित थोक्रा र बेत्रावतीका भिनाजु विजय दोङ्गोलको खोजीमा अस्पतालका कुनाकाप्चा चहारिरहनुभएको छ।

भोटेकोशी बाढीपछि सयौँ मानिस अझै सम्पर्कविहीन रहेकाले काठमाडौंका अस्पतालमा आफन्तको खोजीमा पुग्ने परिवारको संख्या बढिरहेको छ। अस्पताल परिसरमा बेपत्ता व्यक्तिका तस्बिर टाँसिएका छन् भने सहायता डेस्कमा आफन्तको विवरण दर्ता गराउनेको भीड देखिन्छ।

एम्बुलेन्स अस्पताल परिसरमा प्रवेश गर्नेबित्तिकै आफन्तहरू आफ्नै मान्छे पो ल्याइएको हो कि भन्ने आशामा दौडिनुहुन्छ। विपद्पछिको यो दृश्यले जीवित आफन्तको खोजी र शव पहिचानको पीडादायी अवस्थालाई झल्काइरहेको छ।