काठमाडौं, भदौ १३। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म २३३ वटा शव संकलन भएको जनाएको छ। तीमध्ये आठ वटा शवको पहिचान भएको छ भने २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी किनारबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनले जनाएको छ।
ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय रहेको प्रशासनले जनाएको छ।
यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।
शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ।
त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा शनिबारदेखि नै पहिचान हुन नसकेका तथा बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।















प्रतिक्रिया दिनुहोस्