काठमाडौं, भदौ १३ । नेपाली कांग्रेसका सभापति गगन थापाले भाेटेकाेशीमा आएको बाढी पछि रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी लगायत त्रिशूली र नारायणी नदी किनामा फेला परेका शवलाई ‘बेवारिसे’ भन्दै तत्काल गाड्ने हतारो नगर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले मृतकका आफन्त अझै पनि आफ्ना परिवारका सदस्यको खोजीमा रहेको भन्दै शवको पहिचान र संरक्षणका लागि आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
सभापति थापाले आज सामाजिक सञ्जालमार्फत सरकारलाई यस्तो आग्रह गर्नुभएको हो। उहाँले सनातन परम्परामा मृत शरीरलाई अत्यन्त सम्मानका साथ हेर्ने गरिएको उल्लेख गर्दै मृतकप्रति राज्यले समेत संवेदनशील व्यवहार गर्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “शवलाई बेवारिसे भनेर गाड्ने हतारो सरकारले नगरोस्।”
सनातन परम्परामा जीवित शरीरको जति सम्मान हुन्छ, त्योभन्दा बढी सम्मान मृत शरीरको हुने उल्लेख गर्दै सभापति थापाले मृतकको अन्तिम संस्कार र पहिचानको विषयलाई संवेदनशील रूपमा लिन आग्रह गर्नुभएको छ।
उहाँले विगतमा कोरोना महामारीका क्रममा मृत शरीरको व्यवस्थापनका विषयमा भारतकाे संसदमा विरोध भएको प्रसंग उल्लेख गर्नुभएको छ। “कोरोनाको समयमा भारत सरकारले मृत शरीरलाई सामूहिक रूपमा जलाउन खोज्दा संसदमा विरोध भएर सरकारले उक्त कार्य रोकेको थियो,” उहाँले भन्नुभएको छ।
बाढी तथा विपद्का कारण आफन्त बेपत्ता भएका परिवारहरू अझै पनि आफ्ना प्रियजनको खोजीमा रहेको सभापति थापाले बताउनुभएको छ। उहाँका अनुसार पीडित परिवारका सदस्यहरू आफन्तको फोटो लिएर विभिन्न स्थानमा भौँतारिइरहेका छन् र आफ्ना आफन्त जीवितै भेटिने आशा अझै त्यागेका छैनन्। “पीडित परिवारका सदस्य आफन्तको खोजीमा फोटो लिएर भौँतारिइरहेका छन्, सास भेटिएला कि भन्ने आश छ, सुरुङतिरै, जंगलतिरै नजर छ अहिलेसम्म,” उहाँले उल्लेख गर्नुभएको छ।
आफन्तको खोजी अझै जारी रहेका बेला बाढीले बगाएर ल्याएका शवलाई सरकारले ‘बेवारिसे’ भन्दै डीएनए परीक्षणका लागि नमुना निकालेर गाड्न थालेकोप्रति उहाँले गम्भीर असन्तुष्टि जनाउनुभएको छ। “बग्दै गएका शवलाई सरकारले बेवारिसे भन्दै डीएनए निकालेर माटोमा पुर्न लागिसक्यो, यो जति पीडादायी कुरा अरु के होला ?” सभापति थापाले प्रश्न गर्नुभएको छ।
शवको पहिचान तथा संरक्षणका लागि केही समय पर्खन सकिने व्यवस्था मिलाउन उहाँले सरकारलाई सुझाव दिनुभएको छ। त्यसका लागि आवश्यक चिस्यान केन्द्र निर्माण गर्न सकिने उहाँको भनाइ छ। “२–४°C को चिस्यान केन्द्र (Cold store) बनाउन त यति ठूलो महाभारत पनि होइन,” उहाँले भन्नुभएको छ।
सभापति थापाले तत्काल स्थायी संरचना निर्माण गर्न नसकिए पनि वैकल्पिक उपायबाट शवलाई सुरक्षित राख्न सकिने बताउनुभएको छ। “औषधि बोक्ने कन्टेनर नै प्रयोग गरेरसमेत चिस्यान केन्द्र बनाउन सकिन्छ होला,” उहाँको सुझाव छ।
विपद्को घटना भएको केही दिनमै शव व्यवस्थापनमा सरकारले देखाएको हतारोप्रति आफूलाई पीडाबोध भएको उल्लेख गर्दै सभापति थापाले मानवीय संवेदनालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। “३ दिनमै यत्रो हतार गरेको देखेर निकै पीडाबोध भएको छ,” उहाँले भन्नुभएको छ।
सभापति थापाले शवको पहिचान, संरक्षण र आफन्तलाई जिम्मा लगाउने प्रक्रियामा सरकार थप संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ। आफन्तको खोजी जारी रहेका परिवारलाई अन्तिम आशासमेत गुम्ने अवस्था नआओस् भन्नेतर्फ राज्य गम्भीर हुनुपर्ने उहाँको आग्रह छ।














प्रतिक्रिया दिनुहोस्