जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २०:०३

विपद् प्रतिकार्यमा नेपाल प्रहरी सक्रिय, लुटपाटमा संलग्न ३० भन्दा बढी पक्राउ


काठमाडौँ, भदौ १३ । नेपाल प्रहरीले रसुवामा आएको बाढीबाट प्रभावितको खोजतलास, उद्धार तथा राहत वितरणसँगै शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले विपद्पछिको अवस्थालाई सम्बोधन गर्न प्रहरी संगठन अहोरात्र खटिएको बताउनुभयो ।

उहाँका अनुसार फेला परेका शवको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ । हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालसँग समन्वय गरी पहिचानको काम भइरहेको उहाँले बताउनुभयो ।

विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

सामाजिक सञ्जालमार्फत भ्रम तथा अफवाह फैलाउने व्यक्तिको समेत पहिचान गरी निगरानी भइरहेको उहाँले बताउनुभयो ।

प्रवक्ता काफ्लेका अनुसार जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्ने कामसमेत भइरहेको छ ।