जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २०:३७

त्रिशूली–३ ‘बी’ सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन


काठमाडौँ, भदौ १३ । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सरकारको अनुमतिमा चिनियाँ विज्ञ टोली उद्धारका लागि खटिएको हो । टोली चिनियाँ हेलिकप्टरमार्फत सिधै त्रिशूली क्षेत्रमा अवतरण गरेको छ ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको सुरुङ उद्धारलाई प्रभावकारी बनाउन चिनियाँ टोली परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

चिनियाँ टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि प्राविधिक काम अघि बढाउनेछ ।

संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र उद्धारको सम्भाव्यताबारे प्राविधिक रेकी (अनुगमन) गर्नेछ ।

प्रारम्भिक अनुगमनबाट उद्धार सम्भव हुने देखिए चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा बोलाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।