जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २०:४५

भोटेकोशी बाढीमा ५५० जनाको हवाई उद्धार


काठमाडौँ, भदौ १३ । रसुवाको भोटेकोशी बाढीमा फसेका ५५० जनाको हवाई उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार शनिबार साँझ ६ बजेसम्म टिमुरे, स्याफ्रुबेसी, मैलुङलगायत क्षेत्रबाट ४६ चिनियाँ र ८ भारतीयसहित ५५० जनाको हवाई उद्धार गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा विभिन्न उपकरण प्रयोग गरी जलविद्युत् आयोजनाका सुरुङको प्रवेशद्वार पत्ता लगाउने प्रयास भइरहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार भदौ १० गतेदेखि हालसम्म स्थलमार्गबाट २०० जना विदेशी नागरिक र हेलिकप्टरमार्फत २१६ जना विदेशी नागरिकसहित कुल दुई हजार ६५० जनाको उद्धार गरिएको छ । हेलिकप्टरबाट उद्धार गरिएका विदेशीमा १२१ भारतीय, ४ जर्मन, ७२ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ कोरियाली नागरिक छन् ।

त्यस्तै, काठमाडौँबाट त्रिशूलीसम्म हवाई तथा स्थलमार्गबाट र त्रिशूलीबाट आवश्यकताअनुसार हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म दुई हजार १४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

बाढी प्रभावित जिल्लामा नेपाली सेनाका आठ हजार तीन सयभन्दा बढी सैनिक परिचालन गरिएको छ ।

सेनाका अनुसार आइतबार नदी किनारमा शवको खोज तथा व्यवस्थापनमा सहयोग, आपत्कालीन उपचारलाई निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा खोज तथा उद्धार जारी राख्ने योजना छ ।

त्यस्तै, आसपासका सुरुङमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार र अवरुद्ध सडक सञ्चालनमा ल्याउने कामलाई पनि निरन्तरता दिइने सेनाले जनाएको छ ।