जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २०:४७

मृत्युको मुखबाट फर्किएका रावलद्वयको दाबी– सुरुङभित्र अझै धेरै साथी फसेका छन्


काठमाडौँ, भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट जोगिएर फर्किएका अपर त्रिशूली–२१६ जलविद्युत् आयोजनाका दुई सब–इन्जिनियरले सुरुङभित्र अझै धेरै सहकर्मी फसेको दाबी गरेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाका महेश रावल र उमेश रावलले शनिबार राजधानीमा आयोजित कार्यक्रममा बाढीको भयावह क्षण सुनाउँदै सुरुङभित्र फसेकाको तत्काल खोज तथा उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उमेशका अनुसार बाढी आउनुअघि कुनै पूर्वसूचना थिएन । अचानक ठूलो आवाज सुनेपछि बाहिर निस्कँदा केही क्षणमै भोटेकोशीको विशाल भेल आयोजनातर्फ आइरहेको देखिएको उहाँले बताउनुभयो ।

‘बाढी आउने केही जानकारी थिएन । एक्कासि स्वाँ–स्वाँ र सुँ–सुँ गरेको आवाज आयो । बाहिर निस्कँदा विशाल भेल देखियो । कयौँ साथीलाई बगायो,’ उहाँले भन्नुभयो, ‘हामी केही जना भिरमा घाँस समातेर बल्ल जोगिन सफल भयौँ ।’

आफूहरू मृत्युको मुखबाट फर्किए पनि आँखैअगाडि सहकर्मीलाई बाढीले बगाएको दृश्य सम्झँदा पीडा हुने उहाँले बताउनुभयो ।

महेशले आयोजनाको सुरुङभित्र अझै धेरै कामदार तथा कर्मचारी फसेको जानकारी आफूले पाएको बताउनुभयो । केही साथी मात्र भागेर बाहिर निस्कन सफल भएको भन्दै उहाँले सुरुङभित्र रहेकाको उद्धारमा ढिलाइ नगर्न आग्रह गर्नुभयो ।

‘मलगायत केही साथी मात्र भाग्न सफल भयौँ । धेरै साथी सुरुङभित्रै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको जीवन रक्षाका लागि खोज तथा उद्धारको पहल गर्दा सकुशल हुने सम्भावना अझै बाँकी छ।’

रावलद्वयका अनुसार अपर त्रिशूली–२१६ आयोजनाको ड्याम, पावर हाउस र सुरुङ क्षेत्रमा गरी तीन हजारभन्दा बढी कर्मचारी तथा कामदार कार्यरत थिए । बाढीपछि एक हजारभन्दा बढी सम्पर्कविहीन भएको हुनसक्ने उहाँहरूको दाबी छ ।

उनीहरूले राज्यले बाहिर देखिएका प्रभावितको उद्धारसँगै सुरुङ तथा आयोजनाका जोखिमयुक्त संरचनाभित्र रहेका व्यक्तिको खोजीलाई पनि समान प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

रावलद्वयको अनुभवले बाढीबाट जोगिएका व्यक्तिको राहतसँगै अझै सम्पर्कविहीन रहेका सहकर्मीको खोज तथा उद्धारमा देखिएको चुनौतीसमेत उजागर गरेको छ ।