जनता टाइम्स

१३ भाद्र २०८३, शनिबार २०:४९

बाढीपहिरोबारे चीनको दाबी– नेपाललाई समयमै महत्वपूर्ण सूचना दिएका थियौँ


काठमाडौँ, भदौ १३ । नेपालमा हालै आएको बाढीपहिरोको जोखिमबारे चीनले पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनका आधारमा हिमालय क्षेत्रमा विपद्को जोखिम अत्यन्त छरिएर रहेको र उच्च हिमाली क्षेत्रमा निरन्तर निगरानी गर्न चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

दूतावासका अनुसार हिमालय क्षेत्रमा ४ हजारदेखि ५ हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा ठूलो संख्यामा हिमताल तथा हिम–चट्टानका संरचना रहेका छन् । यस्ता क्षेत्रमा नियमित स्थलगत सर्वेक्षणमार्फत तल्लो भूभागमा जस्तो व्यापक निगरानी गर्न कठिन हुने दूतावासको भनाइ छ ।

ठाडो भूभागमा तस्बिर तथा उपग्रहबाट गरिने निगरानीमा त्रुटि हुनसक्ने र विशाल तथा जटिल भौगोलिक क्षेत्रमा उच्च सटीकताका साथ निगरानी गर्नु अन्तर्राष्ट्रियस्तरमै चुनौतीपूर्ण रहेको दूतावासले जनाएको छ ।

दूतावासले २५ अप्रिल २०१५ मा नेपालमा गएको भूकम्पले हिमालयको दक्षिणी ढलानका चट्टानी संरचनामा समेत प्रभाव पारेको र त्यसले हिमाली क्षेत्रमा रहेका चट्टान तथा भू–संरचनाको जोखिमबारे थप अनिश्चितता बढाएको उल्लेख गरेको छ ।

चिनियाँ विज्ञ टोलीले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निरन्तर निगरानी, जोखिम मूल्यांकन र विश्लेषण गर्दै आएको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै आदानप्रदान गर्दै आएको दूतावासको दाबी छ ।

नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर सम्पर्क र सहकार्य हुँदै आएको पनि दूतावासले जनाएको छ ।

गत मेमा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो । उक्त टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा छलफल गरेको दूतावासले जनाएको छ ।

त्यस्तै, अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरण संस्थानको टोलीले नेपाल भ्रमण गरी वैज्ञानिक अनुसन्धान तथा अनुभव आदानप्रदान गरेको थियो । सो क्रममा चीनले हिमताल निगरानीसम्बन्धी आफ्नो व्यावहारिक अनुभव नेपालसँग साझा गरेको दूतावासको भनाइ छ ।

अगस्ट २६ मै आकस्मिक भर्चुअल बैठक

दूतावासका अनुसार अगस्ट २६ मा चीनको मौसम प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरेको थियो ।

बैठकमा विपद्को अवस्थाबारे मूल्यांकन गर्नुका साथै सम्बन्धित तथ्यांक आदानप्रदान गरिएको दूतावासले जनाएको छ ।

चीनले अहिले पनि नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना निरन्तर साझा गरिरहेको र सीमावर्ती क्षेत्रमा रहेका तालको निगरानीसम्बन्धी तथ्यांकसमेत उपलब्ध गराइरहेको जनाएको छ ।

चीनको मौसम प्रशासनले ‘माजु’ (MAZU) नामक चिनियाँ बौद्धिक मौसम पूर्वसूचना प्रणालीअन्तर्गत नेपाललाई प्रारम्भिक चरणमै अनुकूलित सेवा उपलब्ध गराएको दूतावासले बताएको छ ।

यस्ता गतिविधिले सीमापार विपद् व्यवस्थापनमा दुवै देशको प्रतिक्रिया क्षमता बढाउन सहयोग पुग्ने दूतावासको दाबी छ । आगामी दिनमा नेपाल–चीनबीच विपद् जोखिम न्यूनीकरणका लागि सूचना आदानप्रदान र सहकार्य थप गहिरो बनाउने विश्वाससमेत दूतावासले व्यक्त गरेको छ ।