काठमाडौं, भदौ १४ । उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरणअनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढीको अवस्था सामान्य रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको हो।
यसअघि बिहान भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना प्राप्त भएपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको थियो। अवस्था सामान्यतर्फ फर्किए पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतहको निरन्तर अनुगमन गरिरहेका छन्।
नारायणगढ–पोखरा र काठमाडौं सडक सञ्चालनमा
बाढीको जोखिम घटेसँगै नारायणगढ–मुग्लिन तथा मुग्लिन–पोखरा र काठमाडौं जोड्ने सडक खण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौं जाने तथा आउने सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको छ।
यसअघि भोटेकोशी नदीमा बाढी आएको सूचनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडकमा सवारी आवागमन रोकिएको थियो। अवस्था सामान्य भएपछि सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
राजमार्ग सञ्चालनमा आए पनि जोखिमयुक्त स्थानमा सावधानी अपनाउन, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा गर्दा सुरक्षालाई प्राथमिकता दिन चितवन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्