चार दिन बित्दा पनि उद्धार अपरेसन सुरु भएन, सरकारको तयारी र संवेदनशीलतामाथि गम्भीर प्रश्न
काठमाडौं, भदौ १४ । भाेटेकाेशीमा आएकाे बाढीका कारण माथिल्लो त्रिशूली थ्री–ए आयोजनाको सुरुङमा करिब ६ सय मानिस फसेको चार दिन बितिसक्दा पनि उनीहरूको उद्धारका लागि ठोस र प्रभावकारी अपरेसन सुरु हुन सकेको छैन ।
गृहमन्त्री सुदन गुरुङ आयोजनास्थल पुगेर सुरुङको अवस्था निरीक्षण गरेको तथा फोटो खिचाएर आफू उद्धारमा सक्रिय रहेको सन्देश प्रवाह गरिरहँदा जमिनमुनि फसेका नागरिकको अवस्था भने अझै अनिश्चित छ ।
सुरुङभित्र रहेका मानिसहरू जीवितै छन् कि छैनन् भन्ने यकिन गर्नसमेत नसकिएको अवस्थामा सरकारको प्राथमिकता उद्धारभन्दा प्रचारमा सीमित भएको भन्दै प्रश्न उठ्न थालेको छ । चार दिनसम्म उद्धारको प्रभावकारी पहल नहुनु सामान्य ढिलाइ नभई राज्यको गम्भीर असफलताको संकेत भएको पीडित परिवारको गुनासो छ ।
उद्धारका लागि अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र स्पष्ट कमाण्ड संरचनासहित तत्कालै विशेष अपरेसन सञ्चालन गर्नुपर्नेमा सरकारी संयन्त्र भने निरीक्षण, बैठक र प्रचारमै अल्झिएको देखिएको छ ।
ज्यान बचाउने समय घर्किँदै जाँदा सुरुङबाहिर सरकारको गतिविधि बढिरहेको छ, तर सुरुङभित्र फसेकाहरूको उद्धार कहिले सुरु हुन्छ भन्ने प्रश्नको जवाफ अझै छैन ।














प्रतिक्रिया दिनुहोस्