जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०८:४४

भोटेकोशीमा बहाव बढे पनि ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ


काठमाडौं, भदौ १४ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको भए पनि तत्काल ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ५ः४५ बजे सूचना जारी गर्दै रसुवादेखि नुवाकोटसम्म त्रिशूली नदीको बहाव केही बढेको भए पनि ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको जनाउँदै महाशाखाले हाल नुवाकोट क्षेत्रमा बाढी केही बढे पनि ठूलो नरहेको जनाएको छ। महाशाखाले रसुवा, नुवाकोट र धादिङसम्म नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको हो।

यसअघि महाशाखाले भोटेकोशीमा बाढीको ठूलो आवाज सुनिएको सूचना प्राप्त भएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको थियो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले अँध्यारो भएकाले बाढीको अवस्था यकिन गर्न कठिनाइ भए पनि लामो समयदेखि ठूलो आवाज सुनिएको जानकारी दिनुभएको थियो। उहाँले धादिङ, नुवाकोट, सम्बन्धित मन्त्रालय तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत जानकारी गराइएको बताउनुभएको थियो।

त्यस्तै, त्रिशूली क्षेत्रमा उद्धार तथा राहतमा खटिएको टोलीले पनि बाढी आएपछि सुरक्षित स्थानतर्फ सरेको जनाएको थियो। ठूलो बाढी आएको भन्दै स्थानीयवासीसमेत सुरक्षित स्थानतर्फ लागेका थिए।

बाढीको सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै चितवन र काठमाडौंको नागढुंगामा सवारी साधन रोकिएको थियो। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डिल्लीनारायण पाण्डेका अनुसार बिहान साढे ४ बजेदेखि चितवन र नागढुंगामा सवारी साधन रोकिएका थिए।

तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिए पनि बाढीको ठूलो जोखिम नरहेको पछिल्लो सूचनापछि अवस्था सामान्यतर्फ फर्किएको छ।