काठमाडौं, भदौ १४ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि खटिएका सुरक्षाकर्मी तथा स्थानीय तहका कर्मचारीले अनावश्यक रूपमा प्रभावित क्षेत्र पुग्ने विशिष्ट व्यक्ति र ‘विपद् टुरिस्ट’का कारण उद्धारमा बाधा पुगिरहेको गुनासो गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा पुगेका केही सांसद तथा राजनीतिक व्यक्तिले सामाजिक सञ्जालमा तस्बिर तथा सेल्फी सार्वजनिक गरेपछि उनीहरूको गतिविधिलाई लिएर आलोचना भइरहेको छ। पीडितको उद्धार र राहतभन्दा फोटो खिच्ने तथा सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने कामलाई प्राथमिकता दिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले शुक्रबार बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा सांसद रिमा विश्वकर्मा, बदन भण्डारीलगायतसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो। उक्त तस्बिरमा प्रभावित क्षेत्रमा पुगेर पनि आकर्षक पोसाक र चश्मासहित फोटो खिचिएको भन्दै आलोचना भएको छ।
पन्तले भने आफू धादिङ तथा नुवाकोटका बाढी प्रभावित क्षेत्रको ‘आवश्यकता मूल्याङ्कन’ गर्न पुगेको बताउनुभएको छ। उहाँले प्रभावित क्षेत्रमा पुगेर स्थानीयको अवस्था नजिकबाट बुझेको दाबी गर्नुभएको छ।
त्यस्तै, रास्वपाका सांसद सागर ढकालले पनि हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रमा पुगेको तस्बिर सार्वजनिक गर्नुभएको थियो। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आफू त्यहाँ पुगेको उहाँले बताउनुभएको छ। तर, हेलिकप्टरमा सेल्फी खिचिएको तस्बिर सार्वजनिक भएपछि उहाँको पनि आलोचना भएको छ।
रास्वपाकी सांसद ज्वाला संग्रौला बाढी प्रभावित क्षेत्रमा पुगेका बेला उद्धार गरिएको भिडियो सार्वजनिक भएपछि उहाँसमेत आलोचनामा पर्नुभएको थियो। आलोचनापछि संग्रौलाले राहत लिएर त्रिशूली बजार जाने क्रममा हिलोमा खुट्टा गाडिएपछि सहयोग लिएको स्पष्टीकरण दिनुभएको थियो।
यसरी विपद्का बेला प्रभावित क्षेत्रमा पुगेर अनावश्यक गतिविधि गर्ने प्रवृत्तिलाई ‘विपद् पर्यटन’का रूपमा लिन थालिएको छ। विपद् प्रभावित क्षेत्रमा उद्धार र राहतको काममा खटिएका जनशक्तिले यस्ता गतिविधिले वास्तविक उद्धार कार्यमै असर पार्ने बताएका छन्।
नुवाकोटमा शुक्रबार र शनिबार काठमाडौंलगायत विभिन्न स्थानबाट पुगेका विशिष्ट व्यक्ति तथा उच्च अधिकारीलाई जिल्लाको अवस्थाबारे जानकारी गराउने र ब्रिफिङ गर्ने क्रममा उद्धारमा खटिनुपर्ने जनशक्तिको समय खर्च भएको सुरक्षा निकायका अधिकारीले बताएका छन्।
नुवाकोट सुरक्षा निकायका एक अधिकारीका अनुसार भिआइपीहरू आउँदा उद्धारमा खटिनुपर्ने जनशक्तिसमेत उनीहरूको व्यवस्थापन र ब्रिफिङमा लाग्नुपर्ने अवस्था आएको छ। उहाँका अनुसार शुक्रबार उद्धारको कामभन्दा ब्रिफिङमै बढी समय खर्च भएको थियो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी पनि राहत तथा उद्धारको समन्वयसँगै प्रभावित क्षेत्रको भ्रमणमा आउने विशिष्ट व्यक्तिलाई अवस्थाबारे जानकारी गराउनुपर्ने दबाबमा रहेको बताइएको छ।
विपद् विशेषज्ञ श्रीकमल द्विवेदीले पनि उद्धारको समयमा ‘विपद् टुरिस्ट’ बन्ने प्रवृत्तिले समस्या सिर्जना गर्ने बताउनुभएको छ। उहाँका अनुसार विपद्को समयमा अनावश्यक रूपमा प्रभावित क्षेत्रमा पुग्नुभन्दा उद्धार तथा राहत व्यवस्थापनलाई सहज बनाउनु उपयुक्त हुन्छ।














प्रतिक्रिया दिनुहोस्