जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार ०९:२५

सरकारकाे ध्यान बाढीपीडितको उद्धारमा भन्दा प्रचार र फोटो खिचाउनमा केन्द्रित : माधव ढुङ्गेल


रामेछाप, भदौ १४ । नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले रसुवा र नुवाकोटका बाढीपीडितको उद्धार तथा राहतमा सरकार प्रभावकारी रूपमा परिचालन हुन नसकेको बताउनुभएकाे छ । उहाँले सरकार विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतमा भन्दा प्रचारमा बढी केन्द्रित भएको दाबी गर्नुभयो।

मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार मानव अधिकारको आधारभूत विषय भए पनि सरकारको उदासीनताका कारण नागरिकको जीवनरक्षामै प्रश्न उठेको बताउनुभयो।

उद्धार र राहतको पर्खाइमा सर्वसाधारण रहे पनि सरकारका मन्त्रीहरू प्रभावकारी उद्धारमा भन्दा हेलिकप्टरमार्फत निरीक्षण र प्रचारमा केन्द्रित भएको उहाँको आरोप थियो। सुरुङ तथा जोखिमपूर्ण स्थानमा फसेका नागरिकको उद्धारमा सरकारसँग स्पष्ट योजना र तयारी नदेखिएको उहाँले बताउनुभयो।

“सुरुङभित्र मानिसहरू निसास्सिएर मरिसके, तर सरकार उद्धार गर्न सक्दैन। सुरुङभित्र कसरी जाने र कसरी उद्धार गर्ने भन्नेभन्दा कसरी फोटो खिच्ने भन्नेमा ध्यान गएको देखिन्छ,” ढुङ्गेलले भन्नुभयो।

सरकारका गतिविधिले जनतामा भ्रम सिर्जना गर्ने र प्रचारमुखी शैलीलाई प्राथमिकता दिएको उहाँको आरोप थियो। बाटोमा आफैँ अवरोध सिर्जना गरेर त्यसलाई हटाउनेजस्ता गतिविधि गरेर सरकार सञ्चालन नहुने उहाँले टिप्पणी गर्नुभयो।

ढुङ्गेलले सरकारले आफैँ बनाएको कानुन तथा लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्ने बताउनुभयो। सरकारका कतिपय गतिविधिमा लोकतान्त्रिक अभ्यास र स्थापित मान्यताको बेवास्ता भएको उहाँको भनाइ थियो।

सुकुम्बासी बस्ती हटाउने सरकारको अभियानप्रति पनि उहाँले प्रश्न उठाउनुभयो। घर भत्काएर त्यसलाई बहादुरीका रूपमा प्रस्तुत गर्न नहुने भन्दै उहाँले उक्त अभियानको निरन्तरताबारे सरकारसँग जवाफ माग्नुभयो।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेका घटनाको दोषी ठहर्‍याउने प्रयासस्वरूप १३ दिनसम्म थुनामा राखिए पनि सरकारले त्यसबाट ठोस तथ्य फेला पार्न नसकेको ढुङ्गेलको दाबी थियो। उहाँले सस्तो लोकप्रियताका लागि राज्यले कुनै पनि कदम चाल्न नहुने बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले पनि रसुवाको विपद्को वास्तविक अवस्था बुझ्न र पीडितसम्म प्रभावकारी रूपमा पुग्न सरकार अझै सफल हुन नसकेको बताउनुभयो। संघीय सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय नगरी एक्लै अघि बढ्न खोज्दा उद्धार तथा राहतका काममा ढिलाइ भएको उहाँको भनाइ थियो।

विगतका विपद्का घटनाबाट पाठ सिक्दै विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र साझा जिम्मेवारी आवश्यक रहेको कडरियाले बताउनुभयो।

मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष सुमन बोहराको अध्यक्षतामा भएको कार्यक्रममा ढुङ्गेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्ति, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।