जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १०:०८

पीडित र सरकारबीच गहिरो दूरी बढ्यो, समस्या अनुरूप संवेदनशीलता र तीव्रता देखिएन : शंकर पोखरेल


काठमाडौं, भदौ १४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्पछि सरकार र पीडित पक्षबीच गहिरो दूरी बढेको बताउनुभएको छ। उहाँले उद्धार तथा राहतमा सरकारका तर्फबाट प्रयास भइरहे पनि समस्या अनुरूपको संवेदनशीलता र काममा आवश्यक तीव्रता देखिन नसकेको टिप्पणी गर्नुभएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले सरकारलाई आफूले धेरै दुःख गर्दा पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको महसुस भइरहेको भए पनि पीडित र सरोकारवालाले भने सरकारको काममा आवश्यक संवेदनशीलता र तीव्रता नदेखिएको महसुस गरिरहेको बताउनुभएको छ।  ‘पीडित पक्ष र सरोकारवालाहरूलाई महसुस भइरहेको छ- सरकारको काममा समस्या अनुरूपको संवेदनशीलता र तीव्रता देखिएन’, पोखरेलकाे भनाइ छ । 

उहाँले पीडित तथा सरोकारवालाको गुनासो सुन्ने र उनीहरूसँग सम्पर्क गर्ने विषयमै समस्या देखिएको उल्लेख गर्नुभएको छ। जिम्मेवार व्यक्तिलाई फोन गर्दा सम्पर्क हुन नसक्ने तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत पीडा वा सुझाव राख्दा सरकार समर्थकबाट अशिष्ट आलोचना हुने गरेको उहाँको भनाइ छ।

पोखरेलले उद्धार तथा राहतमा सीमित जनशक्ति मात्र परिचालन भएको देखिएको भन्दै स्थानीय जनप्रतिनिधि र स्वयंसेवकको सहयोग पर्याप्त रूपमा लिन नसकिएको बताउनुभएको छ। त्रिशूली नदीपारिका क्षेत्रमा समेत राहत पुर्‍याउन नसकिएको र जान चाहनेलाई समेत रोकिएको उहाँले उल्लेख गर्नुभएको छ। विभिन्न स्थानबाट आएको अधिकांश राहत सामग्री विदुरमै थुप्रिएको दाबीसमेत उहाँले गर्नुभएको छ।

उहाँले संघीय सरकारले उद्धारका लागि सुरक्षा निकाय परिचालन गरेको र मैदानमा खटिएका सुरक्षाकर्मीले रातदिन मेहनत गरिरहेको भए पनि त्यसलाई प्रभावकारी बनाउन स्थानीय सरकार तथा जनप्रतिनिधिसँग आवश्यक समन्वय हुन नसकेको बताउनुभएको छ।

शव व्यवस्थापनमा समेत कमजोरी देखिएको पोखरेलको टिप्पणी छ। पहिचान नखुलेका शवलाई सामूहिक रूपमा व्यवस्थापन गर्ने गरिएको भन्दै उहाँले यसबाट जनअसन्तुष्टि बढेको बताउनुभएको छ। यस विषयमा अन्तर्राष्ट्रिय समुदायको समेत चासो र सरोकार प्रकट हुन सक्ने अवस्था रहेको उहाँको भनाइ छ।

रसुवा र नुवाकोटका नदी किनारमा शवहरू खुला रूपमा देखिए पनि ती शवसमेत समयमै उठाउन नसकिएको पोखरेलले उल्लेख गर्नुभएको छ।

उहाँले पीडितहरूको पीडा र वेदनालाई दबाएर समस्या समाधान नहुने बताउँदै सरकारलाई फराकिलो सोचका साथ सबै पक्षको सहयोग लिएर अघि बढ्न आग्रह गर्नुभएको छ। सबै पक्षको सहकार्यमा उद्धार र राहतको काम अहिलेभन्दा व्यवस्थित बनाउन सकिने उहाँको धारणा छ।

यद्यपि, संकट अप्रत्याशित र गम्भीर भएकाले व्यवस्थापनमा केही कमजोरी देखिनु स्वाभाविक भएको पोखरेलले स्वीकार गर्नुभएको छ। तर, संकटका बेला प्राप्त सुझाव र आलोचनाको विश्लेषण गरी उद्धार तथा राहतका काममा सुधार, तीव्रता र प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभएको छ। “संकटको यो घडीमा सरकारसँग सहकार्य र सहयोगका लागि हरेक व्यक्ति तयार छन्,” पोखरेलले भन्नुभएको छ।