रामेछाप, भदौ १४। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली क्यूआर कोड र बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको हो।
प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि स्थापना गरिएको राहत कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा नक्कली भौचर तथा क्यूआर कोड सार्वजनिक गरेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त भौचर च्याटजिपिटीको प्रयोग गरी तयार पारिएको पाइएको प्रहरीले जनाएको छ।
कार्की रास्वपाको गोकुलगंगा गाउँपालिका सहसचिव रहेको बुझिएको छ। उनले सामाजिक सञ्जालमा आफू रास्वपाको इमानदार कार्यकर्ता भएको दाबी गर्दै पार्टी सभापतिप्रति प्रतिबद्धता जनाएका विभिन्न सामग्रीसमेत सार्वजनिक गरेका थिए।
उनले फेसबुकमा लेखेका थिए, ‘सभापतिज्यू, म साधारण सदस्य भए पनि म मेरो कारणले तपाईंको शिर झुकाउने काम गर्ने छैन। गर्वका साथ भन्नेछु, पार्टीको विधि र विधानमा एकताबद्ध छु र सदावहार रहनेछु। जय घन्टी।’
त्यस्तै, उनले गृहमन्त्री सुधन गुरुङको भिडियो सार्वजनिक गर्दै आफू रास्वपाको ‘इमानदार कार्यकर्ता’ भएको उल्लेख गरेका थिए।
कार्कीले रास्वपाले आगामी स्थानीय तह निर्वाचन २०८४ का लागि सञ्चालन गरेको उम्मेदवार क्लबमा आफ्नो नाम दर्ता गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसमेत सार्वजनिक गरेको पाइएको छ।
नक्कली कागजात तथा विवरण तयार गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विषयमा प्रहरीले कार्कीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्