काठमाडौं, भदौ १४। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिका बेला सरकारलाई सहयोग गर्ने पार्टीको प्राथमिकता भए पनि उद्धार, राहत र पुनर्स्थापनामा देखिएका कमजोरीमाथि प्रश्न उठाउन नछाड्ने स्पष्ट पार्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे आयोजित बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई सहयोग गर्नु आफ्नो पार्टीको कर्तव्य भएको बताउँदै काममा देखिएका कमजोरी औँल्याउनु पनि सहयोगकै एउटा स्वरूप भएको बताउनुभएको हो।
उहाँले प्रभावित नागरिकले तत्काल उद्धार र राहत पाउनुपर्ने अवस्थामा सरकारी संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको संकेत गर्दै कहाँ काम हुनुपर्ने हो र कहाँ काम हुन नसकेको हो भन्ने विषय औँल्याउनु आवश्यक रहेको बताउनुभयाे । ‘कहाँ ग्याप छ, कहाँ काम गर्नुपर्ने तर भइरहेको छैन, त्यसबारे औँल्याउने काम पनि हाम्रो हो, यो गर्नु भनेको विपद्का बेला आलोचना गर्नु होइन, विपद्का बेला सहयोग नै पुर्याउनु हो,’ सभापति थापाले भन्नुभभयाे ।
सरकारको आलोचना गर्ने उद्देश्य नभएको बताउँदै उहाँले विपद्को समयमा जनताको जीवनरक्षा, उद्धार र राहतमा देखिने कमजोरीलाई चुपचाप स्वीकार गर्न नसकिने बताउनुभयाे । कांग्रेसले सरकारलाई सहयोगसँगै आवश्यक ठाउँमा खबरदारी र दबाबसमेत जारी राख्ने उहाँको भनाइ छ।
यसैबीच, रास्वपा सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय बैठकबाट संसद्भित्रै सबै राजनीतिक दलको सहभागितामा साझा संयन्त्र निर्माण गर्ने समझदारी भएको सभापति थापाले जानकारी दिनुभएको छ। उक्त संयन्त्रलाई तत्काल पूर्णता दिएर प्रभावकारी रूपमा परिचालन गर्न लामिछानेसँग थप छलफल गरिने उहाँले बताउनुभएको छ।
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरिसकेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकलगायतको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका समस्या समेटेर प्रधानमन्त्रीसमक्ष नौबुँदे ध्यानाकर्षणपत्र बुझाइसकेको थापाले जानकारी दिनुभयाे ।
त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् समन्वय समिति’ गठन गरिएको छ। समितिले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा समन्वयका काम अघि बढाइरहेको जनाएको छ।
सभापति थापाले कांग्रेसका नेता, कार्यकर्ता, सांसद तथा निर्वाचित जनप्रतिनिधिलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गर्नुभयाे । पार्टीका विभिन्न तहका कमिटीले रकम संकलन गरी एकमुष्ट रूपमा कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयाे ।
सुरुङमा उद्धारका लागि नेपालभित्र उपलब्ध प्राविधिक क्षमता पर्याप्त नहुन सक्ने भन्दै सभापति थापाले आवश्यकता परे बाह्य मुलुकबाट विशेषज्ञ तथा उद्धार टोलीको सहयोग लिन सरकारलाई आग्रह गर्नुभयाे। यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग समेत सम्पर्क गरेको उहाँले जानकारी दिनुभयाे ।
प्रभावित क्षेत्रबाट प्राप्त सूचना सरकारका सम्बन्धित निकायसम्म पुर्याउने र आवश्यक परे सरकारमाथि दबाब सिर्जना गर्ने काम कांग्रेसले निरन्तर गर्ने उहाँले बताउनुभयाे ।
नुवाकोट र रसुवाका स्थानीय जनप्रतिनिधि तथा पार्टीका स्थानीय नेतासँग प्रत्यक्ष सम्पर्क गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइरहेको बताउँदै सभापति थापाले विपद्का बेला पार्टीका कुनै पनि तहबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न निर्देशन दिनुभयाे । उहाँले आफू पार्टीको विपद् टोलीसहित भोलि प्रभावित क्षेत्रमा पुग्ने जानकारीसमेत गराउनुभयाे ।














प्रतिक्रिया दिनुहोस्