जनता टाइम्स

१० पुष २०७६, बिहीबार ०८:४५

ग्रहणका बेला खानु हुँदैन भन्ने विषयमा वैज्ञानिक मान्यता यस्तो छ


 

काठमाडौं,  पुस १० ।  सूर्यग्रहण लागेका बेला खानेकुरा खानु हुँदैन भन्ने मान्यतामा वैज्ञानिक तथ्य नरहेको यस क्षेत्रसँग सम्बद्ध विज्ञहरूले बताएका छन्।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ग्रहण लागेका बेला खानेकुरा खानु हुँदैन भन्ने शास्त्रीय धारणामा वैज्ञानिक मान्यता नरहेको बताउँछन्। ‘ग्रहणका बेला खाँदा हुन्छ, त्यसबाट पुग्ने असरबारे कुनै वैज्ञानिक अनुसन्धान भएको छैन,’ उनी भन्छन्, ‘भोक लाग्दालाग्दै खाएन भने बरु शरीरमा उल्टो असर देखिन सक्छ।’ ज्योतिषीय मान्यताअनुसार ग्रहणका बेला खाना नखाइ बस्ने चलन रहे पनि त्यसमा अहिलेसम्म कुनै बैज्ञानिक कारण नरहेको उनको भनाइ छ।

‘नियमित रूपमा खाँदै आएको खानेकुरा मज्जाले खाएर काम गर्दा हुन्छ,’ भट्टराई भन्छन्, ‘ग्रहणमा यसो गर्न हुन्छ, हुन्न भन्ने होहल्लाले झनै भय फैलाएको देखिन्छ।’ ग्रहणलाई नाङ्‍गो आँखा वा असुरक्षित तरिकाले भने हेर्न नहुने उनले स्पष्ट पारे।

सुरक्षित तरिकाले ग्रहण कसरी हेर्ने ?

भट्टराईका अनुसार ग्रहण हेर्नका लागि विशेष टेलिस्कोप उपयुक्त हुन्छ। विशेष टेलिस्कोपले सूर्यको कुनै भागलाई मात्र पनि हेर्न मिल्छ। त्यसो त सामान्य टेलिस्कोपलाई मोडिफाइ गरेर पनि ग्रहण हेर्न मिल्छ।

ग्रहण हेर्दा सावधानी नपाउँदा आँखामा असर पर्नसक्ने उनी बताउँछन्। ‘एक्सरे, पानी धमिल्याएर, सामान्य कालो चश्माआदिले ग्रहण हेरेको पाइन्छ, यसरी हेर्दा असुरक्षित हुन्छ,’ उनी भन्छन्।

ग्रहण हेर्न प्रयोग गरिने विशेष चश्माको अप्टिकल डेन्सिटी ५ भन्दा माथि हुनुपर्ने उनको भनाइ छ।

पाँच प्रदेशमा अवलोकन व्यवस्था

नेपाल एस्ट्रोनोमिकद सोसाइटीले काठमाडौंको बतीसपुतलीस्थित कार्यालयका साथै उपत्यकाबाहिर पनि पाँचवटा प्रदेशमा ग्रहण अवलोकनको व्यवस्था मिलाएको छ। प्रदेश १ को दमक, धरान, इटहरी, विराटनगर प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवललगायत स्थानमा ग्रहण हेर्ने व्यवस्था मिलाइएको नासोले जनाएको छ।
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण परेको छ। ग्रहण बिहान ८:४२ बजेदेखि ११:३१ बजेसम्म देख्न सकिनेछ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्य आंशिक रूपमा मात्र देखिने हुनाले यसलाई खण्डग्रास सूर्यग्रहण भनिएको हो।

ग्रहणको स्पर्शकाल बिहान ८:४२ बजेबाट सुरु हुँदै छ भने यो ग्रहण जम्मा २ घण्टा ४९ मिनेटसम्म रहनेछ। ग्रहणको मध्य काल बिहान १० बजेर १ मिनेटमा रहेको छ, यस समय सूर्यको सबैभन्दा बढी भाग चन्द्रमाले छेक्नेछ।

शास्त्रीय माान्यता अनुसार भने ग्रहणभन्दा १२ घण्टाअघि अर्थात् बुधबार बेलुकी ८:४२ देखि भोजन निषेध गरिन्छ। बालक, वृद्ध र आतुरहरूबाहेक अन्यले भोजन गर्न नहुने शास्त्रीय मान्यता छ।