जनता टाइम्स

१० पुष २०७६, बिहीबार ०९:०९

सूर्यग्रहणको आकर्षणको रुपमा प्रचार गरिएको (रिङ्ग अफ् फायर) हेर्न नेपालले सन् २०६४ सम्म कुर्नुपर्छ– सार्वजनिक बिदा छैन


काठमाडौं, पुस १० । बिहीबारको सूर्यग्रहणको नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले (रिङ्ग अफ् फाय) नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो ।

नेपालको पूर्वी भागबाट सन् १९६५ नोभेम्बर २३ तारिखमा बिहान देखिएको (रिङ्ग अफ् फाय) नेपालले अब सन् २०६४ फेब्रुअरी १७ तारिखमा मात्र देख्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

वैज्ञानिक मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै हानी नहुने विज्ञप्तिमा उल्लेख छ । बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण १० बजेर १ मिनेटमा मध्य र ११ बजेर ३१ मिनेटमा सकिनेछ ।

ग्रहणको समयमा नेपालबाट १० बजेतिर सूर्यको झण्डै ४० प्रतिशतसम्म भाग ढाकिएको देख्न सकिने सोसाइटीले जनाएको छ ।

नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण हेर्न बिहान साढे ६ देखि पौने १२ बजेसम्म काठमाण्डौको बत्तिसपुतलीमा रहेको सोसाइटीको कार्यालयमा जान सकिने सोसाइटीले जनाएको छ ।

यसैबीच आज सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले जनाएको छ । यसअघिका वर्षहरुमा सूर्यग्रहणको दिन सार्वजनिक बिदा हुने गरे पनि यसपटक सरकारले बिदाबारे निर्णय गरेको छैन । केही विद्यालयमा भने आज बिदा दिइएको छ ।