जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार ०८:२९

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार प्रयास जारी


काठमाडौं, भदौ १५ रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदार तथा कर्मचारीको उद्धार प्रयास जारी रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा रातभर काम भइरहेको छ। बाढी र पहिरोका कारण आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्क विच्छेद भएपछि सेनाको हेलिकप्टरमार्फत स्काभेटर र प्राविधिक टोली घटनास्थलमा पुर्‍याएर पहुँचमार्ग खोल्ने तथा क्षेत्र सफा गर्ने काम भइरहेको छ।

प्राविधिकहरूका अनुसार सुरुङसम्म पुग्न पानीको निकासका लागि करिब ३० देखि ४० मिटर चौडाइमा जमिनमा जमेको माटो र गेग्रान हटाउनुपर्ने अवस्था छ। त्यसपछि मात्रै उद्धार टोली सुरुङको मुख्य भागसम्म पुग्न सक्ने अवस्था बन्नेछ।

तीनवटा स्काभेटरमार्फत निरन्तर काम भइरहे पनि सुरुङको मुख्य भागसम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएको छ। उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिँदै सुरुङभित्रको अवस्था निरीक्षण र फसेकाहरूको खोजी गरिरहेको सरकारले जनाएको छ।

यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा पनि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ। आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहितको टोलीले घटनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको निरीक्षण गर्दै उद्धारको काम अघि बढाइरहेको छ।

त्यसैगरी, लाङटाङ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा पनि खोजी कार्य जारी रहेको छ। रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ जनाको समेत खोजी भइरहेको सरकारले जनाएको छ।

विभिन्न जलविद्युत् आयोजनामा कति जना फसेका छन् भन्ने यकिन विवरण अझै संकलन हुन सकेको छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन छन्। तीमध्ये ५ सयभन्दा बढी सुरुङभित्र फसेको आशंका गरिएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सुरुङमा फसेकाहरूको उद्धार थप चुनौतीपूर्ण बनेको छ। सरकारले सुरक्षा निकाय, प्राविधिक टोली र उपलब्ध उपकरण परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइरहेको जनाएको छ।