काठमाडौं, भदौ १५ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्ण रूपमा ठप्प भएको छ भने केही सडकमा जोखिम हेरेर सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड बाढी तथा पहिरोका कारण प्रभावित भएका छन्।
मेची राजमार्ग पूर्ण रूपमा बन्द
कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ। इलाम हुँदै ताप्लेजुङ र झापा जोड्ने यो सडक बन्द भएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गका दुई स्थानमा सडक अवरुद्ध
बागमती प्रदेशमा पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवाभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पनि पहिरोका कारण यातायात ठप्प भएको छ।
रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द छन्।
केही सडकमा रातिको आवागमन रोक
सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।
बीपी राजमार्ग: काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
कान्ति लोकपथ: मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
टोखा–छहरे सडक: नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
कर्णालीमा पनि सडक अवरुद्ध
कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खसेपछि नाग्म–मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण सडक तथा राजमार्ग आसपास थप पहिरो र बाढीको जोखिम रहेकाले यात्रुले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्