जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार १३:००

गोरखामा पहिरो, बूढीगण्डकी नदी थुनिएको हल्ला गलत


काठमाडौं, भदौ १५ गोरखाको चुमनुव्री गाउँपालिका–छेकम्पार क्षेत्रमा पहिरो गए पनि बूढीगण्डकी नदी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

करिब ३ हजार ५ सय मिटर उचाइमा रहेको छेकम्पार क्षेत्रमा पहिरो गएको पुष्टि भए पनि नदी थुनिएको अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।

‘पहिरो गएको हो, नदी थुनिएको हल्ला सत्य होइन,’ शर्माले भन्नुभयो।

पहिरोबारे थप विवरण संकलन तथा अवस्थाको निगरानी भइरहेको प्रशासनले जनाएको छ।

यसअघि सामाजिक सञ्जालमा छेकम्पारस्थित चौरी खर्क क्षेत्रमा ठूलो पहिरो गएर बूढीगण्डकी नदी थुनिएको भन्दै विभिन्न सामग्री सार्वजनिक भएका थिए।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार चौरी खर्क क्षेत्रमा पहिरो गएर बूढीगण्डकीको सहायक नदी स्यार खोला केही समय थुनिएको थियो। तर अहिले पानी पुनः बग्न थालेको उहाँले जानकारी दिनुभयो।