जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार २१:०२

पुनर्निर्माणको कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन


काठमाडौं, भदौ १५ पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र कार्यढाँचा (फ्रेमवर्क) तयार गरी पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

सिंहदरबारमा सोमबार आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले राष्ट्रिय योजना आयोग, मुख्य सचिव तथा विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन–कानुनको सीमाभित्र रहेर पुनर्निर्माणको कार्यढाँचा तयार गर्न निर्देशन दिनुभएको हो।

नयाँ संयन्त्र गठन गर्न समय लाग्ने भएकाले अहिलेको कानुनी व्यवस्थालाई आधार बनाएर विगतको पुनर्निर्माण प्राधिकरणजस्तै शक्तिशाली, प्रभावकारी र समन्वयकारी संयन्त्र निर्माण गर्नुपर्नेमा मन्त्री लम्सालले जोड दिनुभयो।

त्यस्तै, विपद्का बेला प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा विपद् व्यवस्थापन प्राधिकरण स्वतः सक्रिय हुनुपर्ने भए पनि प्रभावकारी रूपमा सक्रिय हुन नसकेकोप्रति उहाँले चासो व्यक्त गर्नुभयो।

मन्त्री लम्सालले योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि पुनर्निर्माणको मोडालिटीबारे थप निष्कर्षमा पुग्न सकिने बताउनुभयो।