जनता टाइम्स

१० पुष २०७६, बिहीबार १०:२०

ओली-प्रचण्डबाटै आयो नेम्वाङलाई सभामुखको प्रस्ताव


काठमाडौं, पुस १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बन्न प्रस्ताव गर्नुभएको छ ।

संसद चलाउनका लागि काविल ब्यक्तिको खोजी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले नेम्वाङलाई सो प्रस्ताव गर्नुभएको हो । अध्यक्षद्वयको प्रस्ताव गरेको बिषयलाई नेम्वाङले सार्वजनिक गर्नुभएको छ । ‘मलाई प्रधानमन्त्रीले मात्र होइन, कमरेड प्रचण्डले पनि तपाईं नै सभामुख हुनुपर्छ भनिसक्नुभएको छ । त्यस्तै, संसद्मा रहेका सम्पूर्ण दलका नेताले पनि तपाईं नै हुनुपर्छ भनिरहनुभएको छ । त्यसकारण प्रधानमन्त्रीले मात्र भन्नुभयो भन्ने त प्रश्नै रहेन नि,’ सभामुख बन्ने बिषय आफ्नो चाहना र नीजि मामिला भन्दा पनि पार्टीको आवश्यकता रहेको भन्दै नेम्वाङले भन्नुभयो ।

नेकपामा सभामुखका लागि आधा दर्जन नेता आकांक्षी रहेका छन । तर अध्यक्षद्वयले नेम्वाङलाई नै पहिलो रोजाईमा राख्नुभएको हो । प्रतिनिधिसभामा सभामुख चयनका लागि शुक्रवारबाट प्रक्रिया अघि बढाउने सहमति यसअघि नै भइसकेको छ । सभामुख चयन प्रक्रिया अगावै अध्यक्षद्वय ओली र प्रचण्डले नेम्वाङलाई सभामुख बन्न प्रस्ताव गर्नुभएको हो ।