जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार २१:४२

विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिलेकाहीँ हेलिकप्टरमा उडेको देखिन्छ : ओली


काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले सरकारको विपद् व्यवस्थापन शैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।

अध्यक्ष ओलीले विपद्का बेला प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्ने भए पनि अहिले सरकारलाई नै खोज्नुपर्ने अवस्था आएको टिप्पणी गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘विपद्को बेलामा सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको छ। कहिलेकाहीँ हेलिकप्टरमा उडेको देखिन्छ, तर पीडितको ठाउँमा सरकारको उपस्थिति देखिँदैन।’

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै प्रभावित क्षेत्रमा पुगेर कतिपयले नागरिकलाई हप्कीदप्की गर्ने, कतिपयले आधारहीन निर्देशन दिने र केहीले समस्या समाधान गर्नुभन्दा थप समस्या सिर्जना गर्ने गरेको टिप्पणी गर्नुभएको छ।

उहाँले उद्धार कार्यमा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्न सरकारले रोक लगाएको दाबी गर्दै त्यसप्रति असन्तुष्टि जनाउनुभएको छ।

उद्धारका लागि तालिमप्राप्त जनशक्ति तथा हेलिकप्टर भएका निजी क्षेत्रलाई समेत परिचालन गर्न सके उद्धार कार्य प्रभावकारी बन्न सक्ने उहाँको भनाइ छ।

‘निजी हेलिकप्टर पनि जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न उत्सुकहरू छन्। उद्धारका निम्ति तालिम लिएका मानिसहरू छन्। त्यस्ता मानिसलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने धेरै काम गर्न सक्थे। तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोकिएको छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा फसेकाहरूको उद्धार हेलिकप्टरबाट मात्र सम्भव नहुने बताउँदै त्यस्ता स्थानमा आवश्यक प्राविधिक जनशक्ति र उपकरण तत्काल परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रभावित स्थानीयवासीले आफन्तको खोजी गर्नसमेत अनुमति नपाएको गुनासो गरिरहेको उहाँले बताउनुभयो।

विपद्को समयमा सरकारले प्रभावकारी समन्वय गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेका नेता, कार्यकर्ता तथा स्थानीय र प्रदेश तहका जनप्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा सहयोगका काममा खटिएको दाबी गर्नुभएको छ।

‘हामी समस्यामा मलमपट्टी लगाउन खोजिरहेका छौँ। अहिले पनि हाम्रो पार्टीका नेता–कार्यकर्ता, स्थानीय र प्रदेशका जनप्रतिनिधिसमेत स्थलमै खटिएर काम गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रहसमेत गर्नुभएको छ।