काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ९३९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म देशका विभिन्न स्थानबाट ९३९ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा धेरै चितवनमा २७९ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ।
सोमबार साँझसम्मको तथ्यांकअनुसार ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।
बाढी तथा पहिरोमा परी २७९ जना घाइते भएको प्राधिकरणले जनाएको छ। घाइतेमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
त्यस्तै, नेपाली सेनाले हालसम्म २ हजार ७०० जनाको उपचार गरेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव संकलन तथा उद्धार कार्य जारी रहेको छ।














प्रतिक्रिया दिनुहोस्