काठमाडौं, भदौ १५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
विश्वभर रहेका नेपालीबाट संकलित रकममध्ये हालसम्म प्राप्त रकमबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको एनआरएनए आईसीसीले जनाएको छ।
संघका अनुसार संकलित रकमबाट प्रभावित क्षेत्रको आवश्यकताका आधारमा राहत सामग्री खरिद तथा वितरणसमेत भइरहेको छ। खाद्यान्न, टेन्ट, लत्ताकपडा, औषधिलगायत अत्यावश्यक सामग्री प्रभावित परिवारसम्म पुर्याउने कार्यलाई प्राथमिकता दिइएको संघले जनाएको छ।
एनआरएनए आईसीसीले विश्वभर रहेका नेपालीको सहयोग, सद्भाव र ऐक्यबद्धताबाट संकलित रकम पारदर्शी तथा जिम्मेवार ढंगले परिचालन गरिरहेको जनाएको छ।
विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट थप रकम प्राप्त हुँदै गएपछि बाँकी रकमसमेत आवश्यकताअनुसार क्रमशः प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने संघले जनाएको छ।
‘संकटको यस घडीमा विश्वभरका नेपालीहरू एकजुट भएर मातृभूमि र बाढीपहिरोबाट प्रभावित नेपाली दाजुभाइ–दिदीबहिनीको साथमा उभिएका छौँ। एकता, सहयोग र जिम्मेवारी एनआरएनए आईसीसीको प्रतिबद्धता हो,’ संघले भनेको छ।
एनआरएनएले तत्कालीन राहतसँगै बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापना तथा आवश्यक मानवीय सहयोगमा समेत आफ्नो भूमिका निरन्तर कायम राख्ने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्