जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार ०८:१२

कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिरै एलपी ग्यास भरिँदै


काठमाडौं, भदौ १६ पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यका र आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउन उपत्यकाबाहिरै एलपी ग्यास भर्न थालिएको छ।

ग्यास बोकेका बुलेट कृष्णभीरको सडक हुँदै आवतजावत गर्न नसक्ने भएपछि उपत्यका तथा छिमेकी जिल्लाका ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भरेर काठमाडौं ल्याउने भएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र आसपासका १६ वटा उद्योगले बाहिरी जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्।

काठमाडौं उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशतभन्दा बढी एलपी ग्यास आवश्यक पर्ने संघले जनाएको छ।

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म बाहिरी जिल्लाका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइनेछ।

बाहिरी जिल्लामा भरिएको ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडक हुँदै काठमाडौं ल्याउने तयारी गरिएको छ।

कालाखेतीका अनुसार बाहिरी जिल्लाका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेको छ। उपत्यका र आसपासका जिल्लामा तत्काल ग्यास अभाव नहुने भन्दै उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास जगेडा नराख्न आग्रह गरेका छन्।

उनका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी तथा एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरेका छन्।

अन्य उद्योगहरूले पनि राजधानीबाहिरका उद्योग वा अन्य ग्यास उद्योगसँग समन्वय गरेर ग्यास भर्ने काम अघि बढाएका छन्।

कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्गको आवागमन प्रभावित हुँदा काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्ने जोखिम बढेको छ। त्यसलाई मध्यनजर गर्दै ग्यास उद्योगहरूले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति कायम राख्ने प्रयास थालेका हुन्।