जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार ०८:१६

बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव


काठमाडौं, भदौ १६ नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा बगेर ज्यान गुमाएका व्यक्तिका शव एउटै घरभित्र ठूलो संख्यामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार शवको यकिन संख्या भने अझै खुल्न सकेको छैन। पानी परिरहेको र रात परिसकेकाले शव गणना गर्न कठिन भएको उहाँले बताउनुभयो।

‘बेत्रावतीस्थित पुरिएको एउटा घरमा धेरैवटा शव एउटै कोठाभित्र फेला परेका छन्। पानी परिरहेको र रात परिसकेकाले शवको संख्या यकिन गर्न सकिएको छैन,’ एसपी रेग्मीले बताउनुभयो।

विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार उक्त घरमा २२ वटा शव देखिएका छन्। उहाँका अनुसार ठूलो घरभित्र शवहरू थुप्रिएको अवस्थामा भेटिएका हुन्।

‘आज २२ जनाको शव एउटै घरमा फेला परेको छ। घण्टी घरभन्दा अलि माथिको ठूलो घर हो। यसअघि ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौँ,’ उहाँले बताउनुभयो।

थप सुरक्षाकर्मीसहितको टोली घरमा पुगेर खोजी गर्दा ठूलो संख्यामा शव फेला परेको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार केही शव निकालिए पनि अझै ठूलो संख्यामा शव घरभित्रै रहेका छन्।

‘आज ५–६ वटा शव निकालियो। अरू त्यहीँ छन्। १६ वटा शव अझै त्यहीँ रहेको देखिएको छ। धेरै शव चिन्न नसक्ने अवस्थामा छन्,’ तामाङले बताउनुभयो।

यसअघि पनि उक्त घरमा उद्धार तथा खोजीको प्रयास गरिएको थियो। तर बाढीको पानी, जोखिम र प्रतिकूल अवस्थाका कारण खोजी प्रभावकारी हुन सकेको थिएन।

प्रहरीका अनुसार मंगलबार बिहान पुनः सुरक्षाकर्मीको टोली परिचालन गरी उक्त घरमा रहेका शव निकाल्ने तथा थप खोजी गर्ने तयारी गरिएको छ।

भोटेकोशी बाढीपछि नुवाकोटको बेत्रावती क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहे पनि कतिपय स्थानमा शवहरू भेटिने क्रम अझै रोकिएको छैन।