काठमाडौं, भदौ १६ । बाढी तथा पहिरोका कारण बागमती प्रदेशका पाँच जिल्लाका विभिन्न मुख्य सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ललितपुर, धादिङ, रसुवा, नुवाकोट र काभ्रेका सडक प्रभावित भएको जनाएको छ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–भट्टेडाँडामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र परेवा भीरमा पहिरो गएपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
रसुवामा बाढीका कारण पासाङ ल्हामु सडकखण्डको बेत्रावती–सिमटार तथा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको खाल्टेमा यातायात अवरुद्ध भएको छ। ती सडकखण्ड अर्को सूचना जारी नभएसम्म बन्द रहने प्रहरीले जनाएको छ।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग र नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा नुवाकोटमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न निषेध गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सडकको अवस्था तथा मौसमको जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्