जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार ०८:३६

नेपाललाई पूर्वसूचना नदिएको आरोप चीनद्वारा अस्वीकार


काठमाडौँ, १६ भदौ । नेपालमा आएको विनाशकारी बाढी–पहिरोअघि हिमनदी तथा जलस्तरसम्बन्धी आवश्यक पूर्वसूचना उपलब्ध नगराएको भन्ने आरोप चीनले अस्वीकार गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले नेपालसँग मौसम विज्ञान, जलस्रोत तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको जनाएको छ।

चिनियाँ पक्षले मौसमसम्बन्धी जल तथा मौसम विज्ञानका तथ्यांक नियमित रूपमा उपलब्ध गराउँदै आएको दाबी गरेको छ। चीनले नेपालको विपद् उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले रोयटर्सलाई दिएको लिखित प्रतिक्रियामा दुवै देशका नागरिकको सुरक्षा तथा साझा हितका लागि विपद् जोखिम न्यूनीकरणमा सहकार्य थप मजबुत बनाउने उल्लेख गरेको छ।

यद्यपि, बाढी आउनुअघि चीनसँग विशेषगरी आफ्नो सीमाभन्दा बाहिरका हिमाली क्षेत्रमा रहेका हिमनदीको अवस्थाबारे कस्तो स्तरको तथ्यांक उपलब्ध थियो भन्ने विषय अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ।

यसैबीच, चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीकी भू–जोखिम विशेषज्ञ फ्यान सुआनमेईले उच्च हिमाली क्षेत्रमा विपद्को जोखिम समयमै पहिचान गर्नु निकै चुनौतीपूर्ण हुने बताएकी छन्।

उनका अनुसार ५ हजार मिटरभन्दा बढी उचाइमा रहेका हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर निगरानी गर्न कठिन हुन्छ। अत्यधिक चिसो, उच्च उचाइ तथा भौगोलिक जटिलताका कारण निगरानी उपकरण सञ्चालनमा समेत समस्या हुने गर्छ।

यस्तै, हिउँ, बरफ र भिरालो भूगोलका कारण स्याटेलाइट तस्बिरसमेत कतिपय अवस्थामा अस्पष्ट हुने भएकाले हिमनदी तथा हिमाली क्षेत्रमा विपद्को जोखिम पहिल्यै पहिचान गर्न कठिन हुने उनको भनाइ छ।