हेटौँडा, १६ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं सडकमा बढेको सवारी चाप व्यवस्थापन गर्न आजदेखि ‘वान–वे’ रुट लागू गरिएको छ।
स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनले हेटौँडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ।
यस्तै, काठमाडौंबाट हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं जाने–आउने सवारीसाधन हेटौँडा–काठमाडौं वैकल्पिक मार्गतर्फ मोडिएका छन्। यसले वैकल्पिक सडकमा सवारीको चाप बढ्नुका साथै जामको समस्या देखिएको थियो।
नयाँ ‘वान–वे’ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी चाप, जाम तथा लामो समयसम्म सवारी रोकिनुपर्ने समस्या कम हुने प्रशासनको अपेक्षा छ।














प्रतिक्रिया दिनुहोस्