जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार ११:०७

बेत्रावतीको मिनिमार्टमा २४ शव फेला, १० शव काठमाडौं पठाइयो


काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटको बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ वटा शव फेला परेका छन्।

विदुर नगरपालिका–१० स्थित उक्त मिनिमार्टमा सोमबार खोज तथा उद्धारका क्रममा २४ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार मिनिमार्टभित्र ठूलो मात्रामा बालुवा जमेको अवस्थामा शवहरू फेला परेका हुन्। उद्धार टोलीले शवहरू संकलन गरी आवश्यक अनुसन्धान तथा पहिचानको प्रक्रिया अघि बढाएको छ।

फेला परेका २४ शवमध्ये १० वटा शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइसकिएको उहाँले बताउनुभएको छ। बाँकी शव पनि आवश्यक प्रक्रिया पूरा गरी सोही अस्पताल पठाइने उहाँको भनाइ छ।

घटनास्थलमा थप खोज तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। मिनिमार्टभित्र ठूलो मात्रामा बालुवा तथा माटो जमेकाले थप शव हुन सक्ने आशंकामा उद्धार टोलीले खोजीलाई निरन्तरता दिएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा फेला परेका शवको पहिचान र व्यवस्थापनको काम जारी रहेको छ।