जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार १७:५२

भोटेकोशी बाढी प्रभावितलाई राहत पुर्‍याउन त्रिशूलीमा तुइन सञ्चालन


हेटौँडा, भदौ १६। भोटेकोशीमा आएको भीषण बाढीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि प्रभावित नागरिकसम्म राहत तथा स्वास्थ्य सामग्री पुर्‍याउन बागमती प्रदेश सरकारले त्रिशूली नदीमा तुइन सञ्चालनमा ल्याएको छ।

बाढीका कारण आसपासका क्षेत्रमा पुल बगाए पछि प्रभावित क्षेत्रमा आवतजावत कठिन बनेको थियो। त्यसलाई मध्यनजर गर्दै प्रदेश सरकारले विदुर र त्रिशूली जोड्ने गरी त्रिशूली नदीमा वैकल्पिक आवागमनका रूपमा तुइन निर्माण गरेको हो।

निर्माण सम्पन्न भएपछि तुइन आजदेखि सञ्चालनमा आएको प्रदेश सरकारले जनाएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीले सिर्जना गरेको विषम परिस्थितिमा प्रभावित नागरिकसम्म राहत, स्वास्थ्य सामग्री तथा अत्यावश्यक सेवा तत्काल पुर्‍याउन तुइन सञ्चालन गरिएको बताउनुभएको छ।

तुइन सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री ओसारपसार गर्न सहज हुने तथा आपत्कालीन अवस्थामा रहेका नागरिकको उद्धारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।