काठमाडौं , पुस ११ । काठमाडौं शहरका चोक–चोकमा रहेका होर्डिड बोर्ड आजदेखि हटाइने भएको छ । होर्डिङ बोर्ड हटाउन सरकारले ४ कार्यदल बनाएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मेयर विद्यासुन्दर शाक्यसहित बिहीबार बसेको बैठकले कार्यदल बनाएको हो ।
महानगर संयोजक रहने गरी बनाइएको कार्यदलमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण र नेपाल टेलिकमको प्रतिनिधि राखिएको छ । कार्यदल बोर्ड हटाउन शुक्रबारदेखि नै परिचालित हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले शहरको सौन्दर्य बढाउनका लागि होर्डिङ बोर्ड हटाउन तत्कालै शुरु गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
काठमाडौंका होर्डिङ बोर्ड हटाउन ४ वर्षअघि सर्वोच्च अदालतले समेत आदेश दिएको थियो । २ ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन आदेश दिएको हो । महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । आदेश लामो समयसम्म कार्यान्वयन नभएपछि सर्वोच्चमा महानगरविरुद्ध अवहेलनाको मुद्दा समेत दायर भएको थियो ।
अवहेलना मुद्दा दायर भएपछि महानगरले होर्डिङ बोर्ड हटाउन सक्रियता देखाएको हो । महानगरले २ साताअघि ७ दिने अल्टिमेटम दिदै बोर्ड सम्बन्धित सबैलाई निर्देशन दिएको थियो । त्यसको २ सातापछि गृहमन्त्रालयमा भएको छलफलले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्