जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १४:१४

धकेलियो सभामुख निर्वाचन, संसद बैठक स्थगित


काठमाडौं, पुस ११ । सभामुख चयन प्रक्रिया अघि बढाउने कार्यसूचीसहित आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले विशेष कारणवश बैठक स्थगित भएको र अर्को बैठक पुस १६ गते हुने सूचना जारी गरेको छ ।

आज समामुख चयनका लागि निर्वाचनको मिति तोक्ने कार्यसूची थियो । सभामुखका लागि सत्तारुढ दलभित्र सहमति नजुटेकाले बैठक रोकिएको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकै कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । संसदको हिउँदे अधिवेशन यही पुस छ गतेबाट सुरु भएको हो ।

रिक्त समामुख पदमा आकांक्षी धेरै भएकोले अन्तिम निर्णय भइसकेको छैन । उपसमुख शिवमाया तुम्बाहाङ्फेले सभामुख दावी गरिरहँदा अन्य आकांक्षी पनि धेरै रहेका छन । यद्यपी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सभामुखको बनाउने ब्यक्तिको टुंगो लगाइसक्नु भएको स्रोतले बताएको छ ।