जनता टाइम्स

११ पुष २०७६, शुक्रबार १८:४७

ट्रायलमा फेल भएकालाई धमाधम लाइसेन्स


काठमाडौं, पुस ११ । यातायात व्यवस्था कार्यालय बुटवलले ट्रायल परीक्षामै फेल भएका व्यक्तिलाई घुस लिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो तथ्य फेला पारेको हो ।

आयोगका अनुसार ट्रायल फेल भएका ७१ जनालाई यातायात कार्यालयले लाइसेन्स दिएको पाइएको हो । ट्रायल परीक्षामा फेल भएकालाई घुस लिएर लाइसेन्स दिएको प्रमाण फेला परेपछि आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पोखरेल र श्रैष्ठले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई नतिजामा पास गराएको देखिएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा फेल भएका व्यत्तिको नाममा सवारी चालक अनुमतिपत्र जारी गरी परीक्षाको परिणाम फेरवदल गरेको देखिएकोले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले जनाउनु भएको छ । कोइरालाका अनुसार अभियुक्त दुवै जनाबिरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।