जनता टाइम्स

१२ पुष २०७६, शनिबार १०:४८

तत्कालिन प्रधानमन्त्री नेपाललाई डिएफओले भने ‘यो प्रधानमन्त्री कति दिन रहन्छ र ?’


काठमाडौं, पुष १२

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको कर्मचारीतन्त्र कति अटेरी छ भनेर आफैलाई परेको एउटा घटना सुनाउनु भएको छ । उहाले आफ्नो प्रधानमन्त्रीकालमा घटेको घटना सुनाउनु भएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले राजनीतिक अस्थिरताका कारण कर्मचारीहरुले पनि सरकारका निर्देशनहरुलाई नमान्‍ने प्रवृत्ति विगतमा रहेको उल्लेख गर्नुभयो । कर्मचारीहरुको अटेरी प्रवृत्तिलाई आफु प्रधानमन्त्री भएको समयमा नजिकबाट अनुभव गरेको पनि सुनाउनु भयो । ‘कर्मचारी कति अटेरी हुन्छन् भन्‍ने कुराको त म आफैं एउटा उदाहरण हुँ । म प्रधानमन्त्री हुँदा सर्लाही र इलामको वन सखाप पारेछ एउटा डिएफओले। त्यो डिएफओलाई कारवाही गर्न आदेश दिएँु, उहाले भन्नुभयो, ‘जम्मै मिलेका हुँदा रहेछन् डिएफओदेखि लिएर को कोसँग सबै। मलाई रिपोर्ट पेस गरेर हजुर कारवाही गरियो। सस्पेन्ड गरियो। म पनि दंग परेँ, सस्पेन्ड पो भएछ भनेर ।’

नेता नेपालले कारवाहीका नाममा कागजी प्रक्रिया पूरा गर्ने गरिएको अनुभव पनि सुनाउनु भयो । ‘तीन महिनापछि त फेरि उसलाई त्यही ठाँउमा पठाउनुपर्दो रहेछ’, उहाले अगाडी सुनाउनु भयो, ‘तीन महिना त्यहाँ गइसकेपछि के भन्छ रे यो प्रधानमन्त्री कति दिनको हो ? अहिले काट्या छु १० हजार, अब एक लाख रुख काटेर देखाइदिन्छु । यो जाने प्रधानमन्त्रीले गर्ने कतिदिन सम्म ?’ कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत समेत रहनु भएको थियो ।