जनता टाइम्स

३ आश्विन २०८३, शनिबार १९:२७

रामेछापका डिएसपी सन्तुलालप्रसाद जैसवार भदौ महिनामा बागमतीका ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित


रामेछाप, असोज ३ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जिल्ला प्रहरी कार्यालय रामेछापका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारलाई २०८३ साल भदौ महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी” (BEST PROVINCE POLICE OF THE MONTH) घोषणा गरेको छ।

प्रहरी नायव उपरीक्षक जैसवारले सांगठनिक नीति निर्देशन बमोजिम व्यावसायिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, शरीर बन्धक बनाई नगद तथा सुनचाँदी लुटपाट जस्ता जघन्य अपराधमा संलग्न अभियुक्तहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सफल भएकाे भन्दै साे सम्मान प्रदान गरिएकाे हाे । 

साथै, २०८२ साल भदौ २४ गते इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतबाट फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गर्न उहाँ सफल हुनुभएको प्रदेश प्रहरी कार्यालय हेटाैँडाले जनाएकाे छ। रामेछापका ४ जना र दोलखाका २ जना गरी ६ जना वृद्धवृद्धालाई नशालु पदार्थ सेवन गराई गहना चोरी गर्ने गिरोहलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाउन उहाँको मुख्य भूमिका रहेको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गराउनुका साथै अपराध रोकथाम, आत्महत्या नियन्त्रण, घरेलु हिंसा, महिला हिंसा, लागुऔषध दुर्व्यसनी र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षालाई सुदृढ बनाउनुभएकाले उहाँलाई कदरस्वरूप यो सम्मान प्रदान गरिएको जनाइएकाे छ।

बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दीपक रेग्मीद्वारा हस्ताक्षरित पत्रमार्फत उहाँलाई बधाई ज्ञापन गर्दै “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७९” अनुसार साे घोषणा गरिएको हो।  ‘समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सवल बनाउन उत्कृष्ट कार्यसम्पादन गरेको हुँदा तपाईले पुऱ्याउनु भएको उल्लेखनीय कार्यको कदर गर्दै तपाईलाई “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७९” अनुसार २०८३ साल भदौ महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी (BEST PROVINCE POLICE OF THE MONTH)” घोषणा गरिएको छ’, पत्रमा भनिएकाे छ ।