जनता टाइम्स

१२ पुष २०७६, शनिबार १७:०५

प्रतिक्रियावादीहरुले सरकारका विरुद्ध गोयबल्स शैलीमा प्रचार गरे – प्रधानमन्त्री ओली


काठमाडौं,  पुस  १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुले सरकारका विरुद्ध गोयबल्स शैलीमा प्रचार गरिरहेका बताउनुभयो । आज नेकपानिकट प्रेस संगठनको राष्ट्रिय भेलामा उहाले सरकारले गरेका राम्रा कामको प्रचार नभएको भन्दै तर प्रतिक्रियावादीहरुले सरकारविरुद्ध गलत प्रचार गर्न सक्रिय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भने, ‘विरोधीले सामाजिक संजालबाट सरकारविरुद्ध हल्ला फिँजाए ।

’ गोकर्ण रिसोर्टको भाडा सम्झौताको अवधि हचुवाको भरमा नथपिएको जिकिर गर्दै उहाँले विज्ञबाट अध्ययन भएर सुझाव आएको आधारमा सम्झौताको अवधि थप भएको बताउनुभयो । यती समूहअन्तर्गतको भाडा सम्झौता गर्ने कम्पनीले सरकारलाई आकर्षक कर तिर्ने बताएको पनि बताउनुभयो। समय अगाबै गोकर्ण रिसोर्टको भाडा सम्झौताको समय थप्नुको कारण पूर्वाधार निर्माणका लागि हो भन्दै प्रधानमन्त्री ओलीले सम्झौता गरेर बैंकबाट ऋण लिएर पूर्वाधार बनाउनका लागि भाडा सम्झौता गरेको बताउनुभयो।

साथै, उहाले यती समूहलाई कालिमाटीको जग्गा लिजमा दिने काङ्ग्रेस हो भन्दै सिंहदरबार अगाडी अग्लो भवन पनि काङ्ग्रेसले नै बनाउन दिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले अब कोशी र गण्डकीमा गङ्गा नदीबाट पानी जहाज आउने बताउँदै १५० किलोमिटर कुँदेर पानी जहाज नेपाल आउने बताउनुभयो । ‘हाम्रा विरोधीलाई नदिमा पानी जहाज चल्छ भन्ने पनि थाहा रहेनछ’, उहाँले भन्नुभयो ।