जनता टाइम्स

१३ पुष २०७६, आईतवार ०८:४९

नारायणकाजी श्रेष्ठको नजरमा यसकारण सफल छ ओली सरकार, यी हुन चार आधार


काठमाडौं, पुस १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चार कारणले सफल भएको निश्कर्ष सुनाउनु भएको छ । प्रेस संगठन नेपालको राष्ट्रियय भेला तथा सपथग्रहण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले चार कारणले ओली सरकार सफलतातर्फ अघि बढिरहेको आफ्नो निश्कर्ष सुनाउनु भएको हो । अहिले ओली सरकार सफल नभएको र यसले काम गरेको छैन भन्नु आत्मघाती कदम जस्तै हो, ओली सरकारलाई हरहालमा सफल बनाउनु सबैको दायित्व हुन आउँछ, यसमा कुनै अलमल या भ्रममा पर्नुको जरुरी छैन।

राष्ट्रियताप्रतिको अडान

ओली सरकारको सफलताको पहिलो श्रेय राष्ट्रियताप्रतिको अडान हो । राष्ट्रियताबारेमा ओली सरकारले दह्रोसाथ अडान लियो। पहिलो पटक विदेशी हस्क्षेप रोकियो। सरकारले विदेशी हस्तक्षेप रोक्दै त्यसलाई व्यवहारमै पुष्टि गर्‍यो, लिम्पियाधुरासहितको क्षेत्र नेपालको हो भनेर पहिलोपटक ओली सरकारले नै भन्यो। देशभित्रै पनि भन्यो र भारतलाई पनि नोट पठाएर लिम्पियाधुरा नेपालको हो भनेको छ। पहिले कालापानी र लिपुलेक मात्रै नेपालको भनिएको थियो। तर यो पटक ओली सरकारले नै लिम्पियाधुरा निसन्देह नेपालको भएको दाबी भारतसामू प्रस्तुत गर्‍यो। स्वतन्त्रता परराष्ट नीति भत्काउन लागेका बेला ओली सरकारले त्यसलाई बचाउँदै विश्वसामू आफ्नो बलियो उपस्थिति जनायो ।

मौलिक हकमै आधारभुतपाँच कुरा

ओली सरकारको दोस्रो सफलताका रुपमा गाँसबाससहित विभिन्न पाँचवटा आधारभूत कुरालाई मौलिक हककारुपमा राखेकाले यो पनि सफलता हो । यसलाई सफलताको दोस्रो बुँदा मान्न सकिन्छ । गाँसबास, रोजगार, सामाजिक सुरक्षासहित पाँचवटा बुँदालाई मौलिक हक भनेको छ सरकारले। यिनले आधारभूत मानवीय आवश्यकता भएका जनताले सरकार भएको महसुस गरेका छन्।

संघीयता कार्यान्वयन

ओली सरकारको सफलताको अर्को बुँदा संघीयता कार्यान्वयन हो । नेपालले इतिहासमै पहिलो पटक स‌ंघीयताको अभ्यास गरेको छ। संघीयता कार्यान्वयन जस्तो जटिल मुद्दामा ओली सरकार खरो उत्रिएको छ, संघीयतालाई सरकारले व्यवस्थापन गरेको छ। कानुनी, वित्तीय र कर्मचारी व्यवस्थापनमा ओली सरकार सफल देखिएको छ। सामाजिक सुरक्षा योजना लागू भएको छ। वैदेशिक रोजगार व्यवस्थापन हुँदैछ। पानी, रेलवे, बिजुली जस्ता पूर्वाधार उपलब्ध हुँदैछन्। पानी, बिजुली, सडकसहितका पूर्वाधार दिन्छौं भनेर सरकारले काम गरिरहेको छ । दलित, बालबालिका र महिलाका लागि विशेष कार्यक्रम चलेका छन्।

सरकारमाथिको आलोचना तथ्यबिपरित

सरकारको आलोचना र समर्थन तथ्यमा हुनुपर्छ, विश्वले पनि नेपालले राम्रो आर्थिक फड्को मारेको देखेको छ । नेपाल राम्रोसँग आर्थिकरूपमा अघि बढ्यो। आइएमएफ र विश्व बैंकका तथ्यांकले यो देखाएका छन्। आर्थिक वृद्धि राम्रो छ। लगानीको वातावरण राम्रो बनेको सूचक आइसकेका छन्। नेपाल लगानीका लागि उत्कृष्ट मुलुकका रुपमा दरिएको छ। सरकारले शान्ति पक्रियाको व्यवस्थापन गर्दै अघि बढिरहेको छ।तर अब सरकारलाई सुशासन कायम गर्न गराउन ठूलो चुनौती छ, भ्रष्टाचार कुनै हालतमा घटाउनुपर्छ । देश संघीयतामा गए पनि असारे विकास रोकिएको छैन। यसलाई रोक्नुपर्छ। देशमै उत्पादन बढाएर अघि बढ्न आवश्यक छ। नेपालले गत वर्ष तिब्बतबाट १३ करोडको गुन्द्रुक ल्यायो, अब उत्पादन बढाउनु पर्छ। अब नेकपा र सरकार दुवैले जनपरिचालनलाई सशक्त बनाउनु पर्छ । सशक्त जनपरिचालन भएपछि सरकार अझै सफल हुन्छ। नेकपाले जनपरिचालनमा जोड दिएर अन्तिममा महाधिवेशनमा होमिनुपर्छ।