जनता टाइम्स

१३ पुष २०७६, आईतवार १६:४४

भ्रमण बर्ष सफल पार्न आदिवासी–जनजाती महासंघले गर्यो पर्यटनमन्त्री योगेश भट्टराईसामू यस्तो अठोट


काठमाडौं, पुस १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोहमा आफ्नो पहिचान झल्कने झाँकीसहित सहभागी हुन आदिवासी जनजाति समुदायलाई आग्रह गर्नुभएको छ । नेपाल आदिवासि जनजाती महासंघको पदाधिकारीलाई आज मन्त्रालयमै बोलाएर छलफल गर्दै पर्यटनमन्त्री भट्टराईले सो आग्रह गर्नुभएको हो ।

पर्यटन मन्त्री भट्टराईले महासंघमा आबद्ध ५९ ओटै जातीय घटक संस्थाका प्रमुखसँग आज भ्रमण वर्षको उद्घाटन समारोह भब्य बनाउने विषयमा छलफल गर्नुभएको हो । छलफलसँगै उद्घाटन समारोहमा महासंघ र महासंघमा आबद्ध जातीय संस्थाहरु पहिचानसहित मार्च पासमा सहभागी हुने निर्णय भएको छ । महासंघलाई मन्त्रालयले ‘नेपाल भ्रमण वर्ष–२०२०’को मुल आयोजक समिति सदस्य संस्थाको रुपमा समेत राखेको छ ।

यसैगरी संसाभरीका रहेका आदिवासी जनजाति समुदायसँग सम्बद्ध संस्थाहरु समेत सम्बन्धित देशका दुताबास र महावाणिज्य दूताबाससँगको सहकार्य र समन्वयमा भ्रमण बर्षको प्रचारमा सहभागी हुने सहमति भएको छ । महासंघका अध्यक्ष जगत बरामसहित नेताहरुले उठाएको बिषयलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यसै वर्षबाट नेपालका सबै आदिवासी जनजाति र जातजातिहरुको सांस्कृतिक पर्वको परिचय समेटेर सांस्कृतिक क्यालेन्डर प्रकाशन गर्ने जानकारी दिनुभएको छ । पर्यटनमन्त्री भट्टराईले आदिवासी जनजाति संग्राहलय बनाउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।