जनता टाइम्स

१४ पुष २०७६, सोमबार ०८:३३

भ्रमण वर्ष शुभारम्भ तयारीः राष्ट्रपतिले उद्घाटन गर्ने, २० हजारलाई निम्ता


काठमाडौं, पुस १४ । काठमाडौँको त्रिपुुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन दशरथ रङ्गशालाबाट गरिनेछ ।  उद्घाटन कार्यक्रममा सहभागी हुन २० हजार जनालाई औपचारिक निमन्त्रणा दिइएको छ । भ्रमण वर्षको उद्घाटन आगामी जनवरी १ अर्थात् पुस १६ गते काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले साढे ३ बजे उद्घाटन गर्ने तयारी छ ।

२० हजार बढी निमन्त्रणा कार्ड नेपालस्थित विदेशी कूटनीतिज्ञ, सरकारी, निजी क्षेत्रका प्रतिनिधिसहित उच्चपदस्थ व्यक्तिसहित सञ्चारकर्मीका लागिसमेत रहेको सचिवालयका कर्मचारीले जानकारी दिए । उद्घाटन कार्यक्रम करिब ३ घण्टासम्म चल्ने छ । उद्घाटन कार्यक्रम हेर्न रंगशालामै ठुलो स्क्रीनसमेत राख्ने तयारी सचिवालयले गरेको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट पाहुनालाई रंगशालाको ग्राउन्डमा विशेष मञ्च बनाएर राखिनेछ भने अन्य आगन्तुकलाई प्याराफिटमा राख्ने तयारी छ ।

भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले आमन्त्रण गरिएका व्यक्तित्वहरुलाई तीन बजेभित्रै रंगशालाभित्र बसिदिन समेत आग्रह गर्नुभएको छ ।

८ देशका मन्त्रीसहित उच्चस्तरीय टोली आउँदै

सरकारले भ्रमण वर्ष शुभारम्भका दिन हालसम्म विभिन्न ८ देशमा मन्त्रीसहित उच्चस्तरिय टोली आउने निश्चित भएको जनाएको छ । सरकारले विभिन्न करिब ४० देशका पर्यटनमन्त्रीहरुलाई सहभागी हुन निमन्त्रणा पठाएको थियो । हालसम्म भारत, चीन, म्यानमार, कतार, भूटानका मन्त्री आउने निश्चित भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यस्तै कम्बोडियाबाट समेत उच्चस्तरीय टोली सहभागी हुने बताइएको छ । भ्रमणवर्ष शुभारम्भमा विभिन्न देशका मन्त्रीहरु आउने भएपछि जनवरी १ मै मन्त्रीहरुको बैठक गर्ने तयारी गरिरहेको पर्यटन बोर्डका निवर्तमान प्रमुख अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो ।

भुटानको पर्यटन परिषद्का महानिर्देशकसहितको टोली सोमबार नै काठमाडौं आउँदैछन् ।