जनता टाइम्स

१४ पुष २०७६, सोमबार ०९:०२

२०१९ का चर्चित विश्वघटना : २२७ बालबालिकाको सामूहिक चिहानदेखि मुसरफलाई मृत्युदण्डसम्म


 

वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटना ।

नागरिकताको नयाँ व्यवस्थाले ततायो भारत

नागरिकता सम्वन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो ।

भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित

सन् २०१९ को सुरुवात भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भएको थियो । जनवरीमा २३ मा भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो । राष्ट्रपति निकोलस मदुरोलाई निर्वाचित गरेको निर्वाचन निश्पक्ष नभएको भन्दै उहाँले मदुरो अवैध राष्ट्रपति भएको तर्क गर्दै आफैलाई राष्ट्रपति घोषणा गराउनु भएको थियो । गुएइदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरेका थिए भने अमेरिका, युरोपेली राष्ट्रहरु, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अष्ट्रेलिया, इजरायललगायत झण्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए । तर मदुरो अहिलेसम्म पनि राष्ट्रपति भवनमै रहन सफल हुनुभएको छ ।

 बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले संसदको निर्वाचनमा बेलायतलाई युरोपेली संघ ९ईयू०बाट बाहिर निकाल्ने जनादेश सहितको बहुमत पाएको छ । हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ । उहाँले आगामी जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरहनु भएको छ । तत्कालिन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुदै उहाँ नयाँ निर्वाचनबाट फेरी प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया

एक अर्कालाई प्रमुख दुश्मन ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभएपनि शीर्ष नेताको दुई बैठक भयो । अघिल्लो वर्षको जुन १२ का दिन सिङ्गापुरमा पहिलो पटक अंगालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले यस बर्ष दुई पटक शिखर बैठक गर्नुभयो । दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सिमानामा जुलाई १ मा भयो । दुवै बैठक ठोस उपलब्धीमूलक नभए पनि द्धिपक्षीय सम्वन्धमा दरार नहुनुलाई नै सन्तोषको रुपमा हेरिएको छ ।

सरिफ सिकिस्त, अब्बासी पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त विरामी हुनुभएको छ । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचार गरी निको नभएपछि बेलायत लगिएको थियो । उहाँको अवस्था अहिले पनि चिन्ताजनक नै रहेको छ । सन् २०१९ मै पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ पर्नुभयो । सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्री भएका अब्बासीलाई पक्राउ गरिएको विषयलाई पनि चासोका साथ हेरियो ।

बाढी र रोगबाट सयौँको मृत्यु

बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्रमा गरी ३ सय भन्दाबढीको मृत्यु भयो । भारतकै विहारमा फैलिएको इन्सेफ्लाइटिस् रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए । अष्ट्रेलियामा यस वर्ष फ्लूका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भयो ।

आन्दोलनमा सयौँ मारिए

सुडानमा भएको आन्दोलनका क्रममा १०८ जनाको मृत्यु भयो भने इराकमा झण्डै एक सय जना आन्दोलनकै क्रममा मारिएका छन् । अफ्रिकी अन्य देशहरुमा पनि बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भइरहेका आन्दोलनमा परी सयौँको मृत्यु भएको छ ।

बेलायतमा कन्टेनरभित्र ३९ जनाको शव

बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । शवमध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको परिक्षणबाट पुष्टि भएको थियो । उनीहरु सुरुमा चिनियाँ नागरिक भनिएपनि पछि भने भियतनामी भएको अधिकारीहरुले बताएका थिए ।

राहुल गान्धीको राजीनामा

भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिनुभयो । लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिनु भयो । उहाँलाई राजीनामा नदिन सुभेच्छुकहरुले दवाव दिएपनि उहाँले मान्नु भएन । उहाँको अडानका कारण पार्टीका पूर्व अध्यक्ष तथा राजिवकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय काँग्रेसको अन्तरिम अध्यक्ष हुनुहुन्छ ।

ट्रम्प विरुद्ध महाअभियोग प्रस्ताव

सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिहरुमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बन्नुभयो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो । तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो ।

जापानी सम्राटको दुर्लभ निर्णय

जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यस बर्ष भयो । त्यहाँका सम्राटले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय तत्कालीन सम्राट अकिहितोले गर्नुभयो । अकिहितोले गद्दी त्याग गरेपछि उहाँका छोरा ५९ वर्षका नारुहितो जापानको राजा हुनुभयो । नयाँ राजाले राजगद्दी समालेसँगै जापानमा नयाँ युगको सुरुवात भएको भनिएको छ ।

भारतमा वावरी मस्जिद र जम्मु काश्मिर

भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी ग¥यो । त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनको रुपमा लिइएको छ । भारतकै अयोध्यामा वर्षौँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो । उक्त स्थानमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि उक्त क्षेत्रमा वावरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए । सर्वोच्च अदालतले सो स्थान हिन्दूहरुलाई दिने र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला ग¥यो ।

श्रीलंकामा दाजुभाइको सत्तारोहण

श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाई गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित हुनुभयो । उहाँ निर्वाचित भएको केही दिनमै तत्कालिन प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिनुभयो र आफ्नै दाइ तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरी सत्तामा फर्किएको र दाइ प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एसियाको एक चर्चाको विषय रह्यो ।

इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको अदालतमै मृत्यु

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । अदालतमा बयान दिन लागेको केहीबेरमा मोर्सी ढल्नुभएको थियो । प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकहरुले भने उहाँको हत्या भएको आरोप लगाएका थिए ।

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा पक्राउ पर्नुभयो । सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आउनुभएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।

दुई सय २७ बालबालिकाको सामूहिक चिहान

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे । आजसम्म फेला पारिएको यस्ता चिहानहरुमा यो सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका थिए ।

‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति

जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कार सम्वन्धी मुद्दा जित्नु भएको छ । जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्वका साथ लिइएको थियो । टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो । उहाँले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफुलाई क्षतीपुर्ति दिलाउन माग गर्नुभएको थियो ।

मुसरफलाई मृत्युदण्ड

पाकिस्तानका अर्का पूर्व राष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभरी नै फैसलाले विवाद निम्त्याएको छ । विरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनु अगावै निधन भएमा उहाँको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्न समेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ ।

सान्ना विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो बर्षको अन्त्यतिर निकै चर्चा भयो । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उहाँले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० बर्षभन्दा कम उमेरकालाई बनाउनु भएको छ । गठबन्धन सरकारमा ५ वटा दल सहभागी भएका छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् ।

यी बाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभरी चर्चामा रहिरहे । यस्तै उतार चढाबका बीच वर्ष २०१९ विदा हुदैछ र नयाँ वर्ष २०२० लाग्न थालेको छ ।