जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार ०८:५३

अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू


काठमाडौं, असोज १७ । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ देखि लागू भएको हो ।

नयाँ नियमका कारण अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।

नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थाबाहेक अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् ।

यसअघि भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्न सक्ने अवस्थासमेत नयाँ व्यवस्थाबाट प्रभावित हुने जनाइएको छ ।

त्यस्तै, हाल अध्ययन गरिरहेको कोर्स पूरा हुन १२ महिनाभन्दा बढी समय बाँकी रहेको अवस्थामा अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन । कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन् ।

नयाँ नियमबाट प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट विद्यार्थी भिसाका लागि आवेदन दिनुपर्नेछ ।

यद्यपि, विद्यावारिधि अध्ययनरत विद्यार्थी, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका हकमा यो व्यवस्था लागू नहुने जनाइएको छ ।

अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या झण्डै ३ लाखबाट घटाएर २ लाख २५ हजारमा सीमित गर्ने नीति अघि बढाएको छ ।