जनता टाइम्स

१४ पुष २०७६, सोमबार १२:१९

बहिनीसँग प्रेम सम्बन्ध, बिहे गरौं भनेपछि हत्या


ताप्लेजुङ, पुस १४ । दाजु बहिनीबीचको प्रेमले ताप्लेजुङमा डरलाग्दो घटना निम्त्याएको पाइएको छ । गत मंसिर १५ गते मेला जान निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुर निवासी १९ बर्षीया मन्दिरा अधिकारी र दाजु नाता पर्ने रमेश अधिकारीबीचको प्रेमले हत्यासम्म निम्त्याएको पाइएको छ ।

मंसिर १५ गतेबाट मन्दिरा बेपत्ता छिन । मन्दिरालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले रमेशलाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रहरीसँगको बयानमा रमेशले आफूहरुबीच प्रेम सम्बन्ध रहेको र बिहे गरौं भनेपछि मन्दिराको हत्या गरेको स्विकार गरेका छन । ‘मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो, उसले बिहे गरौं भनेर दबाब दिइरहेकी थिइन, हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो । त्यसैले मारिदिएँ,’ प्रहरीका अनुसार रमेशको बयान भनेका छन । मन्दिराको शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ ।

काका चन्द्रका अनुसार मन्दिरा बेपत्ता भएकै दिन दिदी एलिसाको फेसबुकमा झापाको हल्दीवारीस्थित नारायण पौडेलको छोरा दिपकसँग विवाह गरेको भनेर मन्दिराको फेसवुकबाट मेसेज आएको थियो । त्यसपछि परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगेका थिए तर कतै फेला पार्न सकेनन । दिदीकै फेसवुकमा फेरि दलित थरका युवकले आफूलाई भारत पुर्याएको भनेर अर्को मेसेज आयो । सो मेजेस रमेशले पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । वेपत्ता भएकै दिन चोकपुरस्थित उनको घरबाट करिव ४० मिनेटको पैदल दुरीमा रहेको तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरी पुलबाट नदीमा फालिदिएको रमेशले प्रहरीसमक्ष बयान दिएका छन ।

हत्या गरिएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुर निवासी १९ बर्षीया मन्दिरा अधिकारी

यसरी भयो घटना

घटनामा संलग्न रमेशको मंसिर २५ गते विवाह तय भएको थियो । विवाहका सामान खरिद गर्न उनी मंसिर १७ गते फुङलिङ बजार गए । बजारबाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजनाअनुसार भेट भयो । भेटका क्रममा विवाहबारे विवाद भएपछि हत्या गरि झोलुंगे पुलबाट नदीमा हालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनापछि रमेशले आफू अपहरणमा परेको र असुरक्षा भएको भन्दै आफ्नै परिवार तथा प्रहरीलाई झुटो जानकारी दिएका थिए । रमेशको वयानपछि उनलाई लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, कपालमा लगाउने चिम्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा र मन्दिराले कानमा लगाएको टप फेला पारेको छ ।