काठमाडौं, असोज १९ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी एक महिलाको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनाको छानबिन गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय समिति गठन गरेको छ।
परिषद्का अनुसार असोज १७ गते भएको घटनाबारे अनलाइनमार्फत उजुरी परेको थियो। सोही उजुरीका आधारमा घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेश गर्न समिति गठन गरिएको हो।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित महिलाले करणीसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जाहेरीपछि प्रहरीले आरोप लागेका कोहलपुर नगरपालिका–११ का ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएको छ। उनी उक्त पोलिक्लिनिकका सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थापासँग सीएमए प्रमाणपत्र मात्र रहेको र उपचारका लागि आवश्यक इजाजत नभएको पाइएको छ।
बाँके जिल्ला अदालतबाट करणीसम्बन्धी कसुरमा अनुसन्धान गर्न थापालाई सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्