जनता टाइम्स

३० बैशाख २०७६, सोमबार ०९:१३

प्रदेश–२ मा राष्ट्रपतिलाई रेड कार्पेट


जनकपुरधाम ।

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधामस्थित जानकी मन्दिरमा आउने भएपछि रेड कार्पेट ओछ्याइएको छ । रामायणकालीन नारी सीताको जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति भण्डारी जनकपुरधामको जानकी मन्दिर आउने भएपछि स्वागतमा रेड कार्पेट बिछ्याइएको हो ।

जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने जानकी महोत्सवको विशेष समारोहमा सहभागीका लागि नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी जनकपुरधाम पुग्नु हुनेछ । जनकपुरधामस्थित एयरपोर्ट आउने र एयरपोर्टबाट सिधै जानकी मन्दिरमा पूजा तथा दर्शन गर्ने कार्यक्रम तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

धनुषाका प्रजिअ कणेलका अनुसार पूजा दर्शनपछि राष्ट्रपतिले केही समय विश्राम गर्नुहुनेछ । त्यसपछि जानकी महोत्सव विशेष समारोहमा ४५ मिनेट सहभागी भई जानकी मन्दिरकै प्राङ्गणमा बनाइएको भव्य पण्डालमा विशेष धार्मिक सम्बोधनको कार्यक्रम रहेको छ।